Home मुख्य समाचार नेपालको शैक्षिक नीति: सुधारको चुनौती

नेपालको शैक्षिक नीति: सुधारको चुनौती

–प्रभास घिमिरे

–प्रभास घिमिरे

देश विकासका निम्ति आवश्यक पर्ने पूर्वाधारमध्ये शिक्षा प्रमुख पूर्वाधार हो । जसले देशलाई दक्ष जनशक्तिको मागलाई परिपूर्ति गर्न विशेष महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । राष्ट्रलाई आर्थिक, सामाजिक ढंगले सुदृढीकरण गर्न शिक्षाको ठूलो हात रहेको हुन्छ । यसरी राष्ट्रियरूपमा दिगो विकास सुशासनको भूमिकालाई एक सूत्रमा सूत्रीकरण गर्न राष्ट्रमा समय समयमा राष्ट्रिय शिक्षा नीतिको अवधारणा प्रस्तावना गरिन्छ । नेपालको संविधान २०७२ को धारा ३१ ले शिक्षासम्बन्धी हकको सुनिश्चितता गरेको छ । जसमा प्रत्येक नागरिकलाई अनिवार्य निःशुल्क आधारभूत शिक्षाको व्यवस्था हुने उल्लेख गरेको छ । अपांगता भएका व्यक्तिलाई राज्यबाट माध्यमिक तहसम्मको शिक्षा हासिल गर्न पाउने हक समेतको र प्रत्येक नागरिकले आआफ्नो मातृभाषामा कानुन बमोजिम शिक्षासम्बन्धी मौलिक हकको व्यवस्था गर्दै आएको छ ।

मानिस जब जन्मन्छ, उसलाई विवेकशील प्राणी भएकाले शिक्षाको आवश्यकता पर्छ । त्यसका लागि उसले गर्ने हरेक क्रियाकलापबाट कुनै न कुनै अनुभव बटुल्दछ । यस अनुभवलाई आफ्नो लक्ष्य परिपूर्ति गर्न सहयोग गर्ने माध्यम नै शिक्षा हो । प्रायः हाम्रो समाजमा शिक्षा भन्ने बित्तिकै चार भित्ताको बारभित्र घण्टीको भरमा पढ्नु अनि सर्टिफिकेट भिर्नु हो भन्ने बुझिन्छ । यस्तो तुच्छ सोच राख्नाले मेरो देशले गुमाइरहेको छ भिन्ची जस्तो चित्रकार, शेक्सपियर अनि देवकोटा । बनिरहेको छ विद्यालय बेरोजगार उत्पादन गर्ने कारखाना अनि विद्यार्थी बनिरहेछन् विदेश पलायनको सिकार ।

शिक्षा हामीले हरेक पल कुनै घटना परिवेश अनि समय उमेर को संरचना परिवर्तन सँगसँगै हरेक प्राणी, वृक्ष वनस्पति आदिबाट पाइरहेछौं । म सिकिरहेछु गण्डकीका छालहरूबाट जिन्दगीका उतार–चढाव, फूलहरूबाट सामाजिक व्यवहार, काँडामा त्याग, अनि समुद्रबाट एकता र एकाग्रता । म सिक्दैछु वेदका मन्त्रहरूबाट जीवन पद्दति, बलिरहेको मैनबाट मौनता, जुन मैले मेरै मातृभूमिको मायाबाट भेटिरहेको छु । बगरमा बालुवा चाल्दै गरेका बालक, ऊ पनि सिंगार्दै छ आफ्नो लक्ष्य । उसले पनि रोटीका लागि रातभर रगटेकै छ हात, उसको पनि चाहना थियो होला प्राध्यापक, पाइलट अनि डाक्टर बन्ने । जब उसको परिवार गरिबीको नजर बन्दमा पर्छ यसरी नै हरेक पलपल आमाको सपना तुहिन पुग्छ । बुद्धिजीवीका समूहले तयार पारेका जुन शिक्षा नीति छ, केवल सेता पानामा काला अक्षरहरूमा मात्र सीमित छन् । ती अक्षर पुगोस् प्रकाश लिएर लिपुलेक, कर्णाली अनि सिंजातर्फ । त्यसै अक्षरले अब गर्नै पर्छ समृद्धिका सपनालाई निराकार मार्गबाट सगुणतर्फ अग्रसर ।

ती अक्षर ब्रह्महरू कदापि बस्नु हुँदैन उखानझैं भैंसी बनेर । तिनैले दिनुपर्छ मार्गनिर्देशन हाम्रा दुर्गम बस्तीलाई सुन्दर संरचना, त्यसै जब पूरा हुन्छन् यी सपना त्यसै दिन मेरो राष्ट्रले गर्नेछ विजयको शङ्खघोष, बज्नेछ घरघरबाट बिगुल, नगराका नादहरू त्यसै नादले अझै च्यातिनु पर्छ अज्ञान अशिक्षाको जालो, विद्यालयमा त्यसै दिनबाट हट्नेछ घोकन्ते विद्याको नियम, ठूलाठूला सर्टिफिकेटका रासहरुका तापिने छ ज्वाला । जब खोक्रो औपचारिकतालाई पछार्दै अघि बढ्नेछ व्यावहारिक र वैज्ञानिक शिक्षा, तब मासिने छैन योग्यता बिनाको अयोग्य प्रमाण । कुनै पनि समाजलाई व्यवस्थित गर्न कुनै नीति नियमहरूको आवश्यकता पर्दछ । त्यसैगरी शैक्षिक क्षेत्रलाई अझ सुदृढीकरण गर्न समय–समयमा शिक्षा नीतिको प्रस्तावना लागू हुन्छ त्यसअनुरूप वर्तमान परिवेशलाई हेर्ने हो भने उपलब्धि सोचेअनुरूप भएको पाइँदैन ।

आज हाम्रा अभिभावक आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा राम्रो पढाइ हुन्न भन्दै बोर्डिङतर्फ लैजान्छन् । एउटा सरकारी शिक्षकले आफ्ना छोरालाई त्यही विद्यालयमा नभएर अन्यत्र बोर्डिङमा भर्ना गर्दछन् । किन भनेर सोध्दा पढाइ राम्रो हुन्न रे । एक सरकारी शिक्षिका भएर त्यसो भनिरहँदा उनीमाथि नै प्रश्नवाचक चिन्ह खडा हुन्छ, के उनले राम्रो पढाउँदिनन् ? यसरी सरकारी र संस्थागतप्रति यस्तो भावना राख्नाले समग्र शिक्षा प्रणालीलाई नै असर परिरहेको देखिन्छ । देशमा रहेको राजनीतिक अस्थिरताले पनि वर्षेनी शिक्षा क्षेत्रले ठूलो क्षति बेहोरिरहेको छ । शिक्षा क्षेत्रलाई अझै बलवान् र एक सूत्रमा समाजलाई रूपान्तरण गर्न मिल्ने भूमिका निर्वाह गर्नु अत्यन्त आवश्यक रहेको छ । त्यसकारण एक विद्यालयमा अनिवार्यरूपमा प्राविधिक विषयलाई समेटेर पठनपाठन हुन अत्यन्त जरुरी रहेको देखिन्छ । हाम्रो माटो सुहाउँदो व्यावहारिक शिक्षा, वैज्ञानिक शिक्षा हरेक विद्यालयमा अनिवार्य रूपमा पठनपाठन कार्यक्रममा राखिनुपर्ने देखिन्छ । विद्यार्थीमा रहेको वाक्पटुतलाई अझ निखार्न र व्यक्तिलाई बौद्धिक बनाउनका निम्ति यसले ठूलो भूमिका निर्वाह गरेको हुन्छ ।

यस्ता कुराहरूप्रति नेपाल सरकारको ध्यानाकर्षण हुन जरुरी छ । शिक्षा नीति नाम मात्रको नभएर कामको पनि आधार बनोस् भन्ने हामी सबैको चाहना रहेको छ । समाजमा छिटै धनी हुनैपर्ने होडबाजीको लहरले गर्दा मानिस शिक्षाबाट अलिक पर भइरहेको र व्यावहारिक शिक्षाको कमी भइरहेको छ । मानिसहरूमा पैसा धेरै तिरेपछि मानिस छिट्टै ज्ञानी हुने भन्ने यस्तो खालको भ्रमको कारणले गर्दा अलिकति योग्य र क्षमतावान् व्यक्तिले उचित परिवेश प्राप्त नगर्ने र अयोग्यले अवसर पाउनाले समाज शिक्षाभन्दा विपरित दिशातर्फ मोडिएको हामीले देख्न सक्छौं । राष्ट्रमा सुशासनको प्रवद्र्धन र असल सामाजिक परिवर्तनप्रति अग्रसर हुने शिक्षाको कमीले गर्दा अधिक भावी पुस्ता विदेशिने लक्ष्य मात्र लिइरहेका छन् । यसरी सबै विदेसिनाले भविष्यमा कस्तो नराम्रो दिन आउला, यो मननीय रहेको छ ।

परम्परागत शिक्षा लागु भएको हुनाले पनि वर्तमान पुस्तामा समाज र शिक्षाबीचको दूरी झन् बढिरहेको छ । व्यक्तिगत क्षमता अभिवृद्धि गर्न शिक्षण संकायको पाठ्यसामग्री उपलब्ध नहुनु पनि अर्को प्रमुख कारण हो । घोकन्ते विद्याको रूपमा सम्पूर्ण शिक्षा निकाय केन्द्रित भइरहनाले पनि यसले भविष्यमा कस्तो दुर्घटना निम्त्याउन सक्ला भन्ने आँकलन गरी बेलैमा सावधानी अपनाउन जरुरी रहेको छ । अतः नेपालमा शिक्षा क्षेत्रलाई भावी देश सञ्चालनको आधारअनुरूप विस्तार र मजबुत पार्नु पर्छ । असल कूटनीतिज्ञ, असल शासक, असल व्यवस्था मेरो देशले पर्खिरहेको छ, मागेको छ । समयले दिनरात उसकै परिश्रमको पारिश्रमिक मागेको छ । हर्केको छोरा पनि संगालेर साँच्दै छ समृद्धिको सपना ।

दिननाथ मास्टर पनि रच्न खोज्दै छन् एक नौलो इतिहास । चाहन्छन् ती खुल्ला आकाशमा अनगिन्ती सपनाका झुण्डहरू पुरा गरेको हेर्न, गाउँका हवल्दार पनि मजबुत बनाउँदै छन् बाहुका बलहरू, यसरी तम्तयार छन् हरेक नागरिक सुमेरु पर्वतझैं विकृति–विसंगति, अराजकता र अशिक्षाको चुनौतीलाई चट्टान, ढुंगा हुँदै बालुवाझैं काँतर बनाउन । त्यसैले समतामूलक समावेशी मूलुक, वैज्ञानिक आधारको स्तम्भ भएको पर्खाल लगाउन शिक्षा पद्दतिले खोज्दैछ । हाल्दैछ स्वाधीनताको जग, ती भित्ताहरू जहाँ कोरिने छन् दाँतेका हस्तकलाका नमुनाहरू चाणक्यका नीतिहरू, सजिने छन् अरस्तुका सिद्धान्तहरू, भेटिनेछन् विजयका रङ्हरू, कोरिनेछन् देवकोटा, पौड्याल अनि समले खोजेका कविताहरू, तब बग्नेछ निश्चल, कञ्चन पवित्र ज्ञानको गण्डकी, जहाँ म पुग्नेछु शिला बनेर अनि हुन्छु उसैमा विलीन कुनै दिन अनि बल्ल सुरुवात हुनेछ आमाको सपनाको नौलो अध्याय ।

Exit mobile version