मकवानपुर जिल्ला भलिवल संघको अध्यक्ष बसन्त कुमार सिटौला ।

मकवानपुर जिल्ला भलिवल संघको बुधबार सम्पन्न अधिवेशनबाट संघ अध्यक्षमा बसन्तकुमार सिटौला सर्वसम्मत चयन हुनुभएको छ । संघको पाँचौं अधिवेशनबाट सिटौलाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । नवनिर्वाचित अध्यक्ष सिटौलाले जिल्लामा भलिवलको प्रशिक्षक व्यवस्था गर्ने, संघको कार्यालय सुचारु गर्ने, जिल्लास्तरीय भलिवल टोली बनाउने, भलिवलका प्रतियोगिताहरु सञ्चालन गर्ने योजना अघि बढाउने बताउँदै आउनुभएको छ । यसै सन्दर्भमा मकवानपुर जिल्लामा भलिवल खेलको अवस्था तथा भलिवल संघको भावी योजनाका सम्बन्धमा नवनिर्वाचित अध्यक्ष बसन्तकुमार सिटौलासँग समृद्ध समाज राष्ट्रिय दैनिकका लागि अस्मिता भट्टराईले गरेको कुराकानीः

समाजः मकवानपुर जिल्ला भलिवल संघको अधिवेशनमा अध्यक्षमा अरु पनि आकांक्षी हुनुहुन्थ्यो होला, तपाईं नै कसरी सर्वसम्मत अध्यक्ष हुन सफल हुनुभयो ?

सिटौलाः मकवानपुर जिल्ला भलिवल संघ २०५४ सालमा स्थापना भएको हो । हामीले विगत २५ वर्षदेखि यस जिल्लामा भलिवलको विकास, विस्तार र संरक्षणमा उल्लेखनीय कार्य गर्न नसकिरहेको अवस्था थियो । २०७२ सालको महाभूकम्पमा परी हाम्रा श्रद्धेय गुरु केशवलाल श्रेष्ठको असामयिक देहावसान भयो । त्यसपछि त मकवानपुरका भलिवलप्रेमीहरु टोलोजस्तै भएका थियौं । अहिले हामी धेरै सक्षम र योग्य साथीभाइ अध्यक्षको आकांक्षी हुँदाहुँदै अधिवेशनमा मलाई अध्यक्षमा सहयोग गर्नुभयो । मैलै साथीहरुको मन जित्न सफल भएँ । साथीहरुले निर्विरोधरुपमा मकवानपुर जिल्लाको भलिवलको विकासका लागि मलाई साथ दिनुभयो, समर्थन गर्नुभयो । यसका लागि म सम्पूर्ण मकवानपुर जिल्लाका भलिवलप्रेमीहरु दाजुभाइ दिदीबहिनीहरु, खेलाडी साथीहरु, अग्रजहरुलाई धन्यवाद दिन चाहन्छु । आभारी पनि छु । र, उहाँहरुको सहयोग साथ हामी सधैं लिएर भलिवलको विकासमा लाग्नेछौं ।

समाजः हजुरको आगामी योजनाहरु के के छन् ?

सिटौलाः आगामी योजना धेरै छन् । एक हिसाबले भन्ने हो भने भलिवल खेलको विकासमा मकवानपुर धेरै पछाडि परिरहेको अवस्था छ । सर्वप्रथम त हामी हाम्रो कार्यालयलाई व्यवस्थित गर्ने प्रयासमा लाग्नेछौं । मकवानपुरमा अहिलेसम्म राष्ट्रिय खेलकुद परिषद्बाट भलिवल प्रशिक्षक उपलब्ध भएको छैन, भलिवल प्रशिक्षक उपलब्ध गराउने हामीहरुको पहिलो योजना रहेको छ । त्यसपछि हामी जिल्लाको महिला र पुरुषको भलिवल टिम निर्माण गर्न लागिरहेका छौं । त्यसको अलाबा पनि हामी भलिवल संघको विधानअनुसार मकवानपुरको १० वटै पालिकामा पालिकास्तरीय भलिवल संघ गठन गर्न गइरहेका छौं । हामी अझ प्रशिक्षण, तालिमलाई व्यवस्थित गर्नेछौं । हुप्रचौरमा बन्दै गरेको भलिवल प्यारापिट निर्माणको कार्यलाई अन्तिम रुप दिनेछौं । हामीसँग अन्य दर्जनौं योजनाहरु छन्, जसलाई हाम्रो ४ वर्षे कार्यकालभित्र ती योजनाहरु सफल पार्नलाई प्रयत्नशील छौं ।

समाजः भलिवल खेलमा के कस्ता चुनौती र अवसरहरु छन् ?

सिटौलाः चुनौती धेरै छ, किनभने भलिवल खेल नेपालको राष्ट्रिय खेल भइकन पनि दर्शक, सरकार, राज्यबाट पर्याप्त ध्यान दिन सकिरहेको छैन । अत्यन्त स्वस्थ ढंगबाट खेलिने खेल हो यो । भलिवल प्रतियोगिताका लागि प्रायोजक पाउन सकिरहेका छैनौं । स्थानीय, प्रदेश तथा संघीय सरकारबाट हामी कताकता ओझेल परिरहेको अवस्था पनि छ । फुटबल खेलजस्तो लोकप्रिय हुन नसकिरहेको यस खेलमा हामीलाई स्रोत जुटाउन र प्रतियोगिता सञ्चालन गर्न ठूलो चुनौती रहेको छ । त्योभन्दा पनि ठूलो चुनौती प्रशिक्षण रहेको छ । जिल्लाको टिम निर्माण गर्नुपर्ने चुनौती पनि छ । हामीसँग अवसर पनि छ । यो राष्ट्रिय खेल हो । आज हामी सबैले भलिवल खेललाई माया गर्नुपर्छ । यसको विकास, विस्तार र संरक्षणमा सबैको योगदान हुनुपर्छ । हामीलाई यसको विकास गर्न अवसर मिलेको छ ।

समाजः भलिवल खेलका गतिविधिहरु कसरी मिलाइएको छ ?

सिटौलाः यसभन्दा अगाडि भलिवल संघको आयोजनामा विरलै खेल प्रतियोगिताहरु आयोजना भइरहेको थियो । विभिन्न वडा, टोल, बस्तीमा रहेका साथीहरु जस्तो, उत्तरी क्षेत्रमा बज्रबाराही, चित्लाङ, पालुङ, पश्चिमी क्षेत्रमा बस्तीपुर यसैगरी हामी हटिया, आमभञ्ज्याङ, कहिलेकाहीँ फापरवारी र नगरपालिकाभित्र पनि हामीले केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको नामबाट हामीले भलिवल गतिविधिहरु गरिरहेका थियौं । अब हामी भलिवल संघकै नामबाट जिल्लामा कम्तिमा पनि वर्षमा २–३ वटा जिल्लास्तरीय प्रतियोगिताहरु सम्पन्न गर्नेछौं । अझ सम्भव भएमा हामी प्रत्येक वर्ष राष्ट्रियस्तरको प्रतियोगिता पनि सम्पन्न गर्नेछौं । हामी स्थानीय सरकारसँग बजेट मागेर, स्थानीय जनप्रतिनिधिहरुसँग अनुरोध गरेर स्रोतहरु जुटाउने प्रयासमा लागिरहेका छौं ।

समाजः भलिवल संघको अध्यक्षमा निर्वाचित हुनुभएकोमा फेरि पनि बधाई तथा सफल कार्यकालको शुभकामना ।
सिटौलाः धन्यवाद । यहाँहरु सबैजनालाई मेरो व्यक्तिगत तर्फबाट र मकवानपुर जिल्ला भलिवल संघको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु । मकवानपुर जिल्ला भलिवल संघलाई सबैले माया गर्नुहुनेछ, सबैले साथ र सहयोग गर्नुहुनेछ भन्ने आशा लिएका छौं । सबै स्थानीय सरकार, जनप्रतिनिधिहरु, संघसंस्था तथा औद्योगिक प्रतिष्ठानहरुले पनि हामीलाई माया गरी साथ र सहयोग प्रदान गर्नुहुनेछ भन्ने आशा लिएका छौं ।