हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा हेटौंडा अस्पतालमा कार्यरत कर्मचारीहरुप्रति केही दिन यता सर्वसाधारणले गरेको व्यवहारप्रति अस्पतालले ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले केही दिन यता अस्पतालका कर्मचारीमाथि दुर्व्यवहार भईरहेको बताउनुभयो ।

अस्पतालबाट सर्वसाधारणले सहज सेवा नपाएको, समयमा डाक्टर नभेटिने लगायतका समस्या राख्दै केही दिन यता सर्वसाधारणले विभिन्न प्रर्दशन गर्ने र धर्नासमेत दिएका थिए । सोही क्रममा केही सर्वसाधारणले अस्पतालका केही कर्मचारीलाई बाटो छेक्ने, रोक्ने र धम्कि दिने जस्ता कुराहरु भएको सापकोटाले बताउनुभयो । पहिलेभन्दा अस्पतालले सेवा प्रभावकारी रुपमा दिदैँ आएको उहाँले दाबी गर्नुभयो । थप सेवाग्राही बढ्दा सेवा उपलब्ध गराउन केही समस्या आएको उहाँले स्वीकार गर्नुभयो । अस्पतालमा अहिले भवन र केही कर्मचारी अभाव रहेकोले सेवामा केही असुविधा आएको उहाँले स्वीकार गर्नुभयो । अहिले दैनिक १ सय ३५ भन्दा बढी एक्सरे सेवा दिइरहेको उहाँले जानकारी दिनुभयो । नयाँ भवन निर्माण सम्पन्न भएपछि सिटिस्क्यान गर्न सकिने र अबको ६ महिनापछि एमआरआई मेसिन ल्याउने र सेवा दिन सुरु गरिने बताउनुभएको छ ।

अन्तरक्रियामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईले अस्पातालका कर्मचारीलाई बाहिरी क्लिनिकमा काम गर्नुपर्ने स्थिति हट्ने गरी आफुहरुले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ । अस्पतालमा कार्यरत कर्मचारी अधिकांश बाहिरी जिल्लाको रहेको र अस्पतालबाहेक अन्य क्लिनिकमा काम गर्नुपर्ने स्थितिलाई हटाउने उहाँको भनाई छ ।