हेटौंडाः मकवानपुर जिल्लाका ६१ हजार ७५ जना बालबालिकालाई कोभिड–१९ विरुद्ध फाईजर खोप लगाईने भएको छ । मकवानपुरमा फाईजर खोप असार ९ गते बिहीबारदेखि १५ गतेसम्म लगाइने भएको छ ।

कोभिड–१९ विरुद्ध संचालित खोप अभियानको प्रगति समिक्षा तथा फाईजर खोप अभियान संचालनबारे गरिएको पत्रकार भेटघाट कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले ५ बर्ष पूरा भई ११ बर्षसम्मका बालबालिकालाई सुन्तला रङ्गको फाईजर खोप लगाइने जानकारी दिनुभयो । उहाँका अनुसार मकवानपुरका १० पालिकामै ५ दिनसम्म खोप अभियान सञ्चालन हुनेछ । खोप अभियानमा मकवानपुरका विद्यालय र वडा कार्यालयहरु लक्षीत तोकिएका केन्द्रहरुमा एक सय ३ वटा स्वास्थ्य संस्थाका ३ सय ९० जना स्वास्थ्यकर्मी खटिने उहाँले जानकारी दिनुभयो । कोभिड–१९ विरुद्ध खोपको घोलक ०.९ प्रतिशत सोडियम क्लोराइड हो । यसबाट गम्भीर प्रकृतिका बिरामीलाई १० लाखमा एक जनालाई विभिन्न समस्या देखिने हुन्छ । फाईजर खोप ९१ प्रतिशत प्रभावकारी हुने बताइएको छ ।

पहिलो लगाएको २१ दिनपछि दोस्रो मात्राको खोप लगाउन मिल्छ । विभिन्न चरणमा लगाइने खोप अभियानमा १२ बर्ष र १८ बर्षभन्दा माथिकालाई पनि पहिलो चरणको यस खोप अभियान सञ्चालनपछि लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईको सभाध्यक्षमा कार्यक्रम भएको हो । गुरागाईका अनुसार अहिले विद्यालयमा विद्यार्थी हुने भएकोले विद्यालय लक्षित कार्यक्रम बनाइएको जानकारी दिनुभयो । जसमा ७ प्रतिशत बालबालिकाले फाईजर खोप लगाउने लक्ष्य रहेको उहाँले दावी गर्नुभयो ।