हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको कार्यपालिकाले अल्पमतमै आगामी आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम तथा बजेट नगर सभामा पेश गर्ने निर्णय गरेको छ । मंगलबार बिहान ८ बजेटका लागि बोलाइएको बैठकमा उपस्थित नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले असहमति जनाउँदै बीचैमा छाडेर हिँडेपछि अल्पममा परेको कार्यपालिका बैठकले नीति, कार्यक्रम तथा बजेट पारित गर्ने निर्णय गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बैठकमा उपस्थित कार्यपालिका सदस्यहरुले बैठक छाडेर गएपछि उपमहानगरपालिकाका योजना, बजेट, सूचना तथा तथ्यांक महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले प्रस्तुत गर्नुभएको नीति, कार्यक्रम तथा बजेटको मस्यौदा छलफलपछि नगरप्रमुख मीना कुमारी लामाले नगर परिषद्मा पेश गर्ने निर्णय गर्नुभएको जानकारी दिनुभयो । २९ सदस्यीय कार्यपालिकामध्ये नेकपा एमालेबाट निर्वाचित १८ जना कार्यपालिका सदस्य छन् ।

नीति, कार्यक्रम तथा बजेट उपमहानगरपालिकाको विषयगत समितिहरुमार्फत आउनुपर्ने प्रक्रियाअनुरुप नल्याइएकोले बिमति जनाउँदै बैठक बहिष्कार गरेको नेकपा एमालेबाट निर्वाचित १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामाले जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिकाको ५ वटा विषयगत समितिहरु गठन हुन सकेको छैन । मेयर र उपमेयरको संयोजकत्वमा रहने समितिले पनि पूर्णता पाउन सकेको छैन ।

प्रक्रियाअनुसार बजेट आउन नसकेको स्वीकार्दै हेटौंडा उपमहानगरपालिकाका एक कर्मचारीले भन्नुभयो, ‘नीति, कार्यक्रम तथा बजेट विषयगत समितिमार्फत सरोकारवालासँग आवश्यक छलफल गरेर महाशाखाका कर्मचारीहरुसँगको परामर्शमा तयार पारेपछि बजेट समितिको संयोजकको रुपमा उपप्रमुखले बजेटको खाकामा समेटेर कार्यपालिकामा पेश गर्नुपर्ने हो । त्यसो हुन सकेन । एक हिसाबले बजेट प्रक्रियाअनुरुप तयार हुन सकेन । उपप्रमुखको संयोजकत्वमा रहने बजेट समितिमा पनि उपप्रमुख एक्लै हुनुहुन्छ ।’

नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले नगर कार्यपालिका तथा वडा समितिको बैठक सञ्चालनसम्बन्धी कार्यविधि र नियमावलीमा संशोधन गर्नुपर्ने प्रस्ताव पनि दर्ता नगरेको जनाएको छ । कार्यविधि र नियमावलीमा संशोधन प्रस्ताव नै दर्ता गर्न समेत नमान्ने, विधिअनुसार बजेट नआएकै कारण बैठक बहिष्कार गर्न बाध्य भएको कार्यपालिका सदस्य सुनिल मोक्तानले जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि साढे २ अर्ब रुपैयाँ भन्दा बढीको बजेट तयार हुने प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो ।