हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक कार्यक्रमअनुसार ९ सय २८ जना सुत्केरीसँग भेटघाट गरेको छ । उपमहानगरपालिकाले पहिलो हप्तामा स्वास्थ्यकर्मीसहित सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्य अवस्था परीक्षण गर्न पोषण कोशेलीसहित भेटघाट कार्यक्रम गरेको हो ।
यस्तै, उपमहानगरपालिकाले गत दुई वर्षदेखि सञ्चालन गर्दै आएको सीमान्तकृत, लोपोन्मुख समुदाय र आर्थिकरुपमा अति विपन्न परिवारको स्वास्थ्य बिमा गर्ने कार्यक्रमबाट १ सय २८ परिवार लाभान्वित भएका छन् । गर्भवती महिलाहरुको स्वास्थ्य जाँच तथा आमा र बच्चाको स्वास्थ्य अवस्था पहिचान गर्न नगर क्षेत्रका सम्पूर्ण गर्भवती महिलाहरुलाई कम्तिमा एक पटक निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरेको उल्लेख छ । भिडियो एक्सरे सेवाबाट हालसम्म ९६ जना गर्भवती महिलाले सेवा लिएका छन् । यस्तै, उपमहानगरपालिकाको समेत समन्वय र सहयोगमा हेटौंडा अस्पतालमा सुरु गरिएको मृगौला डायलासिस सेवा हेटौंडा अस्पतालमा चालु रहेको सिनियर अहेब अनन्त बास्कोटाले जानकारी दिनुभयो । हाल सो केन्द्रमा ८ वटा डायलासिस मेशिन रहेको उहाँले बताउनुभयो ।
त्यसैगरी, हेटौंडा उपमहानगरपालिकाले आधारभूत तथा आकस्मिक सेवाको सुनिश्चिताको लागि नगरका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा नेपाल सरकारद्वारा निःशुल्क वितरण गर्ने औषधीहरु सहज र सरलरुपमा उपलब्ध गराउँदै आएको उल्लेख गरेको छ । दीर्घ तथा नसर्ने रोगबाट घरमै ओछ्यानमा थलिएर रहेका बिरामी व्यक्तिहरुलाई लक्षित गरी प्रत्येक वडामा रहेका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीहरुको परिचालनबाट उपचार र सहयोगको कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । जसबाट हालसम्म १६ जना सेवाग्राहीले सेवा पाएका छन् ।
महिलामा बढ्दो क्रममा रहेको स्तन तथा पाठेघर क्यान्सरजस्ता घातक रोगहरुको पहिचानका लागि आर्थिक वर्ष २०७८÷०७९ मा नगरको ३ स्थानमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको जनाएको छ । हेटौंडाको हर्नामाडी स्वास्थ्य चौकी, ज्यामिरे शहरी स्वास्थ्य केन्द्र, हटिया शहरी स्वास्थ्य प्रवद्र्घन केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको थियो । स्वास्थ्य शिविरमा ३ सय ७० जना महिलाहरुले सेवा लिएका थिए । उपमहानगरपालिकाको वडा नम्बर १, ४, ५, १० मा भवन निर्माण कार्य भइरहेको छ भने वडा नम्बर ९ मा जग्गा प्राप्तिमा ढिलाइको कारण निर्माण कार्य सुरु हुन सकेको छैन ।
स्वास्थ्य संस्थाहरुको सेवालाई प्रभावकारी बनाउन र आधारभूत स्वास्थ्य सेवाको पहुँच अभिवृद्घि गर्न ई–रिपोर्टिङ सिस्टमको विकास गरिएको छ । हाल हटिया स्वास्थ्य चौकी र नागस्वती शहरी स्वास्थ्य केन्द्रमा यस कार्यक्रमको परीक्षण भइरहेको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।











