देशमा अहिले फरक किसिमको सडक संघर्ष र आन्दोलन चलिरहेको छ । झट्ट हेर्दा र कुरा सुन्दा कुनै व्यवसाय गर्दा गर्दै टाट पल्टेको हुँदा भरपाई गरिपाउँ अथवा लगानीको गुणात्मक प्रतिफल पाउनका लागि यथासक्दो चाँडै व्यवस्था गरियोस् भनेर गरिएको विरोध कार्यक्रमजस्तो लाग्छ । यद्यपि कम्पनीहरुको बारेमा सबै कुरा स्पष्ट रुपले नबुझिकन कारोबार गर्नु हुँदैन । आफूले गर्न लागेको लगानी ठिक ठाउँमा भएको छ कि छैन अथवा राम्रो प्रतिफल पाईन्छ कि पाइँदैन भनेर पहिले नै अध्ययन गरेर लगानी गर्नु पर्दछ ।
यथार्थमा पुँजीबजार भनेको अर्थतन्त्रको ऐना हो । संसारमै पुँजीबजार विकास र विस्तार साथै लगानीकर्ताहरुको संरक्षणका लागि हरसम्भव प्रयासहरुलाई निरन्तरता दिइएको हुन्छ । नेपालमा सरकारले पुँजीवजारको विकास र विस्तारलाई खासै प्राथमिकतामा राखेको छैन भन्दा पनि हुन्छ । पुँजीबजार अहिले ८ महिनाको अन्तरालमा उच्च विन्दुबाट करिब–करिब २० खर्ब रुपैयाँको ह्रास आइसकेको छ । बजार घट्ने क्रम त्यो बेला शुरु भयो जुन बेला तरलताको अभाव नै थिएन । पुँजीबजार न्युनतम बिन्दुमा आउनाले नै तरलता अभाव हुन पुगेको हो ।
अर्थमन्त्रीले पुँजीबजार विकास र विस्तारका लागि नियामक निकायहरुमा सहजीकरणको भूमिका निर्वाह गर्नुपर्नेमा गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर बजारलाई जानीजानी ध्वस्त पारेको देखिन्छ । बजार उच्चविन्दुमा पुगेको बेला सन्तुलन गर्नुपर्ने अवस्थामा अर्थमन्त्रीज्युले हावा भरिएको वेलुन फुटेपछि के हुन्छ भनेर उल्टै लगानीकर्ताको मनोवललाई खस्क्याए । डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा सधैं पुँजीबजार अनुत्पादक क्षेत्र भनेर बजारलाई तल्लो विन्दुमा ल्याउन भरमग्दु प्रयास गरे । अझं बाबुराम भटट्राई शेयर बजार भनेको जुवा घर हो भनेर आफ्नो विद्वताको परिचय नै दिए । नेमकिपाका सांसदले त कोठामा बसेर मोवाईल चलाएर गरिने साटट् बजार बन्द गर्न संसदमा नै कुर्लिए । भरखरै मात्र प्रचण्ड कामरेडले धितोपत्रबोर्ड साम्राज्यवादको विकसित रुप भनेर पुँजीबजारलाई ध्वस्त पार्न नियोजितरुपमा अभिव्यक्ति राख्नु भयो फलस्वरुपवजार निरन्तर ओरालो लाग्यो ।
हो । पुँजीबजार यस्तै हो । यहिभनेर नेप्सेमा सुचिकृत भएका बित्तीय संस्था, बीमा कम्पनि, जलविद्युत, उद्योग, होटल, लगानीवोर्डहरुमा संस्थापक लगानीकर्ताहरुले लगानी गरेका थिए ? सरकारी स्वामित्वको नागरिक लगानीकोष, वीमा संस्थान, साल्ट ट्र्रेडिङ र अन्य थुप्रै कम्पनिहरुको कारोवार जुवाडेहरुका लागि सुचिकृत गरिएको हो ? होईन भने पुँजीबजारको विकास र विस्तारको माग राखी सडक संघर्ष र आन्दोलन गरिहेको बेला नियामक निकाय धितोपत्र बोर्डले जायज मागहरुको सम्बोधन गर्ने विषयभन्दा उपकार्यकारी निर्देशक नवराज अधिकारी पुँजीबजारलाई सट्टेवाजको संज्ञा दिँदा पुँजीबजार प्रति संवेदनशील नरहेको पुष्टि हुन्छ ।
पुँजीबजार विकास र विस्तारको वाधककोरुपमा राष्ट्र बैंकको पनि उल्लेख्य भुमिका रहयो । राष्ट्र बैंकको पछिल्लो नीतिले पनि पुँजीबजार र राज्यलाई राजस्व संकलनमा भएको क्षति अब कस्ले भरपाई गर्ने ? अहिलेको समय ५२ लाख हितग्राही खाता भएको र ४५ लाखभन्दा वढीले नेपालको पुँजीबजारमा लगानी गर्दै आएका छन् । २०७८ भाद्र महिनामा नेप्से सूचक ३२०० पुगेको र दैनिक २१ अर्बको कारोबार भएको बजार अहिले मुस्किलले १ अर्बको हुनपुगेको छ । जुन आकारले कारोबार बढ्यो र लगानीकर्ता थपियो त्यस अनुरुप नियामकीय क्षमता बढ्न सकेन साथै नेतृत्वको सोचमा सकारात्मक परिवर्तन भन्दा जाल, झेल, कपट र इस्र्याले बजार निरन्तर ओरालो लाग्यो ।
स्थानीय बजार विस्तार
स्थानीय लगानीकर्ताको कुराहरु गर्ने हो भने हेटौंडा प्रदेशको राजधानी भैकन पनि पुँजीबजार विस्तार गर्ने विषयहरु प्राथमिकतामा परेको देखिँदैन । नयाँ लगानीकर्ताको रुपमा पुँजीबजारमा प्रवेश गर्ने विषय त्यति सहज छैन । बैंक खाता, अभौतिक शेयर खाता, मेरो शेयर खाता, दलाल व्यवसायीकोमा खोलिने ग्राहकखाता, अनलाईन कारोबार गर्नका लागि अनलाईन खाता यि सबै अत्यावश्यक रहन्छ शेयर कारोबार गर्नका लागि र यि सबैको व्यवस्थापनपछि मात्र दलाल व्यवसायीबाट शेयर खरिद विक्री गर्न सक्छौं । स्थानीयस्तरमा कारोबार गर्ने सुविधा दिँदै आएको दलाल व्यवसायीहरुले पनि निम्नतम आधारभुत सेवा पनि दिन सकेको छैन ।
धितोपत्र बोर्डबाट अनुमति प्राप्त दलाल व्यवसायीहरुले स्थानीय स्तर, हेटौंडामा दिएको सुविधा सन्तोषजनक छैन । यद्यपि संघीय राजधानी पुग्नु पर्ने बाध्यतामा दिएको सुविधा उत्साहप्रद नै मान्नु पर्छ । प्रदेशको राजधानी, हेटौंडामा धितोपत्र कारोबार गर्न कुनै पनि नियमन निकाय नेप्से, सिडिएससी र धितोपत्रको उपस्थिती, नियमन र सहजीकरण गर्ने अवस्था नरहेको हुँदा लगानीकर्ताहरुले सहजरुपमा कारोबार सञ्चालन गर्न पाइराखेको छैन ।
विरोध कार्यक्रम
नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डमा १९ बुँदे सुधारका माग राख्दै ज्ञापनपत्र बुझाएसँगै जेठ २३ गतेदेखि शेयर लगानीकर्ताहरुले आन्दोलन गर्दै आइरहेका छन् । १९ बुँदे बजार सुधारको माग राख्दै लगानकर्ताहरुले काठमाडौंमा विशाल र्याली प्रदर्शन गरेका छन् । यसै क्रममा शेयर लगानीकर्ता संघर्ष समितिका संयोजक तिलक कोईरालाज्यू साउन १ गतेदेखि आमरण अनशनमा हुनुहुन्छ । आज पाँचौ दिनसम्म आईपुग्दा उहाँका शारीरिक अवस्था अत्यन्त जटिल बन्दै गैरहेको सुचना प्राप्त भैरहेको छ । यता प्रदेशहरुमा पनि लगानीकर्ताहरु विरोध कार्यक्रमहरु गर्दै जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापनपत्र बुझाउँदै आन्देलनमा उत्रिएका छन । तिलक कोईराला आमरण अनसनमा बस्नु भनको ४५ लाख लगानीकर्ताको सम्पतिको रक्षाका लागि प्रतिनिधित्व गरिरहनु भएको बुझनु पर्छ र यस विरोध कार्यक्रमलाई साथ र समर्थन गर्नु नै हामिसबैको कल्याण हुनेछ ।
(जिल्ला संयोजक, नेपाल स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघ मकवानपुर)











