हेटौंडामा हालै मकवानपुरका सबै स्थानीय तहको सहयोगमा ठूलो पुरस्कार राशि भएको फुटबल प्रतियोगिता सम्पन्न भएको छ । करोडभन्दा बढी खर्च हुने ए डिभिजन फुटबल क्लबले भाग लिएको प्रतियोगितामा देशका चर्चित खेलाडीहरुको खेलकौशल नागरिकले हेर्ने मौका पाए भने नयाँ खेल प्रतिभाहरुले कला सिक्ने अवसर पाएका छन् । पहिलो पटक हेटौंडामा सानै भए पनि प्यारापिटमा बसेर दर्शकले फुटबल अवलोकन गरे । प्रतियोगिताको लागि उपयुक्त मौसम नभए पनि उल्लेख्य दर्शकको उपस्थितिमा एक हप्ताभन्दा बढी समय खेल सञ्चालन भयो । वर्षाले सामान्य असर गरे पनि प्रतियोगिता निर्धारित समयमै सम्पन्न भयो । लोकतान्त्रिक गणतन्त्रका लागि बलिदानी हुने शहीदप्रति खेलकुदको माध्यमबाट स्मरण गर्न स्थानीय तहले प्रतियोगितालाई सहयोग पुर्‍याएका हुन् ।

प्रतियोगिताको अनेक उद्देश्य भए पनि मुख्यगरी देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सफलता पाउने खेल प्रतिभाको खोजी नै हो । ठूला प्रतियोगिताबाट स्थानीयस्तरमा भएका खेल प्रतिभाको पहिचान हुन सक्छ त ? भन्ने प्रश्न उठेको छ । स्थानीय तहबाट ठूलो लगानी तर स्थानीय खेलाडीहरुले अवसर पाउने अवस्था देखिँदैन । यसो भन्दै गर्दा ठूला प्रतियोगिता नगर्ने भन्ने हुँदै होइन । देशी विदेशी खेलाडी बोलाएर ठूला प्रतियोगिता गर्न आवश्यक हुन्छ । यसका अतिरिक्त स्थानीय प्रतियोगिताहरु पनि बारम्बार गरिनु पर्दछ । स्थानीय खेलहरुबाट उत्पादन भएका खेलाडी नै ठूला प्रतियोगितामा सहभागी हुन सक्ने अवस्थाको श्रृजना गरिनु पर्दछ । यसका लागि पालिकाहरुले स्थानीय प्रतियोगिताहरु सञ्चालन गर्न जरुरी छ ।

खेलकुद गर्ने गराउने निकाय राज्यले अलग्गै खडा गरिदिएको छ । जिल्ला खेलकुद विकास समिति, विभिन्न खेलका संघहरुदेखि स्थानीय तहबाट पनि खेलकुद समितिहरु गठन भएका छन् । तर यी संस्थाहरुलाई आर्थिकरुपमा निर्भर बनाउने योजना कसैको छैन । खेलाडी उत्पादनको मुख्य जिम्मेवार नियकाहरु आर्थिकरुपमा कमजोर छन् । स्थानीय खेल प्रतिभाको खोजी गर्ने र पालिका वा जिल्लामा सबै खेलका आफ्नै टीम बनाउने हो भने खेलकुद संस्था र स्थानीय पालिकाहरुबीच सहकार्य जरुरी छ । यही आवश्यकता पूरा गर्न जिल्ला खेलकुद विकास समितिले हेटौंडाका जनप्रतिनिधिहरुसँग खेलकर्मीको अन्तरक्रिया राखेर खेल क्षेत्रमा नयाँ कामको सुरुवात गर्ने प्रयास गरेको देखिन्छ । स्थानीय तहले आफैं कुनै खेल कार्यक्रम सञ्चालन गर्न सक्दैनन् । खेलकुद संस्थाहरुको सहकार्य आवश्यक हुन्छ ।

खेलकुदका लागि नियमित बजेटको व्यवस्था हुनुपर्छ । भनसुनका आधारमा भन्दा नियमित कार्यक्रम बनाउनु पर्दछ । डालोमा रकम राखेर भनसुन र चिनजानका आधारमा खर्च गर्ने पद्दतिले खेलको समानुपातिक विकास हुन सक्दैन । खेलको प्रकृति, आवश्यकता, औचित्य र प्रभावका विषयमा खेलसँग सम्बन्धित निकाय नै जानकारी हुन्छ । त्यसैले खेल क्षेत्रको विनियोजित बजेट सम्बन्धित पक्षको परामर्शमा मात्र खर्च गर्ने पद्दतिको विकास हुनु पर्दछ । जो पहिला पुग्छ उसैले धेरै बजेट पाउने र अन्तिममा पुग्नेले नपाउने अवस्था अन्त्य नगरेसम्म खेलको समग्र विकास सम्भव हुँदैन । स्थानीय तहले खेलाडी उत्पादन गर्ने नै हो भने नियमित प्रशिक्षणको व्यवस्थापनमा विशेष ध्यान दिनु पर्दछ । स्थानीय तहबाटै खेल प्रतिभाको खोजीका लागि पालिकाहरुले व्यवस्थिति खेल कार्यक्रम सञ्चालन आवश्यक छ ।