हेटौंडाः देशका सात वटै प्रदेश सरकारले बजेट ल्याउने दिन बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकार खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । स्थानीय सरकार र केन्द्रीय सरकारलाई कायम गरी प्रदेश सरकार हटाउनुपर्ने राप्रपाको माग छ । जिल्ला प्रशासन कार्यालयमार्फत राप्रपाले बुझाएको ज्ञापनपत्रमा किसानलाई सहजरुपमा रसायनिक मल उपलब्ध गराउन पनि माग गरिएको छ ।
राप्रपा मकवानपुर जिल्ला समितिले बुधबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा राप्रपाले महँगी नियन्त्रण गर्न, नागरिकको मौलिक अधिकारको रुपमा रहेको शिक्षा र स्वास्थ्य निशुल्क गराउन माग गरेको छ । यस्तै पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न, संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरी नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र घोषण गर्न, राज संस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गरी जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न माग गरेको छ । हेटौंडा–२ स्थित पार्टी कार्यालयमा भेला भएका नेता, कार्यकर्ताको समूह नाराबाजीसहित जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।
राप्रपाका पूर्व केन्द्रीय सदस्यहरु दीपक बहादुर सिंह, रामहरी न्यौपाने, बागमती प्रदेशका सचिव गुञ्जन बहादुर न्यौपाने, मकवानपुर जिल्ला उपाध्यक्ष ज्ञानेन्द्र राज ढुङ्गेल नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएका हुन् ।