निमेष निखिल
मध्य नेपालको सुन्दर नगरीका रूपमा परिचित हेटौँडा सहर विभिन्न सम्भावनाहरू बोकेको रमणीय सहर हो । यसको भौगोलिक बनावट, हावापानी, यहाँको जैविक विविधता आदिले गर्दा यो स्थानमा अन्य थुप्रै सम्भावना भए जस्तै यहाँ साइकल संरचनाका पूर्वाधारहरूको विकास गरेर यसलाई साइकल सहरका रूपमा विकास गर्न सकिने सम्भावनाहरू पनि प्रशस्तै रहेका छन् ।
आज विश्वका अतिविकसित देशका सर्वोच्च पदमा रहेका मानिसहरूमा साइकलमा आवतजावत गर्न रुचाउँछन् । विश्वका नाम चलेका विश्वविद्यालयका प्राध्यापकहरू साइकलमा हिँड्न रुचाउँछन् । ती देशहरूमा साइकल चढ्नेहरूप्रति हरेक मानिसको उच्च सम्मान छ । ठिक त्यसका विपरीत हामीकहाँ भने साइकल कुनै सवारी साधन नै होइन भनेर ठुला सवारीहरूले पेल्ने र साइकल चढ्नेहरूलाई हेय दृष्टिले हेर्ने संस्कार रहेको देखिन्छ । सर्वप्रथम हामीमा रहेको यो सोच र चिन्तनलाई परिवर्तन गर्नु आवश्यक छ ।
दिनानुदिन बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्यका कारण बर्सेनी खरबौँ रुपैयाँ विदेसिइरहेको वर्तमान सन्दर्भमा साइकल एउटा राष्ट्रिय अर्थतन्त्रलाई नै सकारात्मक दिशामा परिवर्तन गराउने साधन बन्न सक्छ । यसबाट मानवीय स्वास्थ्यमा सकारात्मक प्रभाव पर्नुका साथै कार्बन उत्सर्जनबाट हुने पर्यावरणीय ह्रासलाई समेत न्यूनीकरण गर्न सकिन्छ । त्यसैले पनि अब सङ्घ, प्रदेशर स्थानीय सरकार सबैले देशव्यापी रूपमा साइकल संस्कृतिको विकासमा विभिन्न अनुदान उपलब्ध गराई बढभन्दा बढी नागरिकलाई प्रोत्साहन गर्नु उपयुक्त हुने देखिन्छ ।
साइकल संरचनाका लागि पहिलो पूर्वाधार भनेको साइकल लेनको निर्माण हो । हेटौँडा बजार क्षेत्रमा सडक विस्तारको मुद्दा राजनीतिक स्वार्थसिद्धि गर्ने उपक्रमका रूपमा प्रयोग हुँदै आएको धेरै समय बितिसकेको छ । त्यसैले प्रथमतः यसको सुलभ विकल्प खोजेर आवश्यक प्रक्रिया अघि बढाउनु अत्यावश्यक भइसकेको छ । साथै अब निर्माण हुने ठुला र विशेष सडकहरूमा अनिवार्य रूपमा साइकल लेन पनि सँगसँगै निर्माण गर्ने नीति स्थानीय तथा सम्बद्ध तहहरूले गर्नु आवश्यक देखिन्छ ।
त्यसो त साइकल लेन विभिन्न प्रकारका हुन्छन् । साझा लेनमा साइकल भएका बेलामा साइकल र नभएका बेला अरु सवारी पनि गुडाउन सकिन्छ । प्रतिबद्ध ९डेडिकेटेड० लेनमा साइकलबाहेक अन्य सवारी साधन प्रवेश गर्न नमिल्ने गरी बार लगाइएको हुन्छ । विकसित देशहरूमा त साइकल मात्र गुड्ने सुपर हाइवेहरू पनि रहेका छन् । सम्बन्धित निकायले विद्यमान सडकहरूमा साझा लेनको अवधारणाले काम गर्न सक्छन् भने अब नयाँ बन्ने सडकहरूमा डेडिकेटेड लेनको अवधारणाअनुसार पनि काम गर्न सकिन्छ ।
हेटौँडा सहरमा अवस्थित प्रमुख कार्यालयहरू तथा अन्य संस्थाहरूलाई हेर्दा सामान्य साइकलबाटै धेरै हदसम्म आवतजावत गर्न सकिने अवस्था देखिन्छ । विभिन्न कार्यालयहरूले आफ्ना कर्मचारीहरूलाई साइकलमा आउनजान प्रोत्साहित गर्ने हो भने इन्धनका नाममा विदेसिने ठुलो धनराशि जोगाउन सकिन्छ । बरु त्यसको केही हिस्सा रकम साइकल प्रयोक्ताहरूलाई प्रोत्साहन स्वरुप प्रदान पनि गर्न नसकिने होइन ।
साइकल संरचना र यसका पूर्वाधारहरूको कुरा गर्दा अर्को महत्त्वपूर्ण पक्ष भनेको व्यस्थित र सुरक्षित साइकल स्ट्यान्ड पनि हो । आज बजारमा १५(२० हजारदेखि दसौँ लाख पर्ने साइकलहरू पाइन्छन् । तर, साइकलको बिमा गर्ने प्रावधान मैले थाहा पाएसम्म नेपालमा छैन । ताला लगाएर राखे पनि साइकल हलुका हुने हुनाले यसलाई बोकेरै पनि चोरी हुने सम्भावना विद्यमान छ । त्यसैले सरकारले साइकल बिमाको नीति ल्याउनुका साथै बजार तथा कार्यालयहरूमा सुरक्षित साइकल स्ट्यान्डको व्यवस्था मिलाउनु पनि उत्तिकै आवश्यक छ ।
हेटौँडाबाट सहिद स्मारक, पुण्यक्षेत्र, त्रिखण्डी, मकवानपुर गढी, गुम्बाडाँडा, चुरियामाई, पदमपोखरीलगायत विभिन्न स्थानहरूसम्म पुग्ने सुरक्षित र उपयुक्त साइकल लेन निर्माण गर्ने हो भने यसबाट यहाँको पर्यटन विकासमा पनि टेवा पुग्न सक्ने देखिन्छ । यसका लागि हेटौँडा साइकल संरचनाका दृष्टिले सुरक्षित छ भन्ने सन्देश देशव्यापी रूपमा मात्रै प्रवाह गर्न सकियो भने पनि आन्तरिक पर्यटनका हिसाबले हेटौँडा बलियो सम्भावनायुक्त सहर बन्न सक्ने देखिन्छ ।
सायद पछिल्लो चरणको राजनीतिक बेथितिले सिकाएर पनि होला( आज आम मानिसमा नकारात्मक चिन्तनले बलियोसँग जरा गाडेको देखिन्छ । सन्दर्भ हालै हेटौँडामा निर्माणको चरणमा रहेको साइकल लेनको हो । गत वर्षको फागुन अन्तिममा आँचल साहित्य कला पुञ्जको साहित्य महोत्सवको एउटा सेसनमा डा। तारालाल श्रेष्ठ, यो पङ्क्तिकार, पत्रकार सुरेश श्रेष्ठ, भानुभक्त आचार्य र हेटौँडामा रहेको हिमालयन राइडर्स सोसाइटी र यहाँ अन्य साइकलसँग सम्बद्ध संस्थाहरूको पहलमा हेटौँडामा साइकल संरचनाको सम्भाव्यता विषयमा एउटा अन्तर्क्रिया आयोजना गरिएको थियो । सोही कार्क्रममा प्रमुख अथिति तत्कालीन नगरप्रमुख हरिबहादुर महतज्यूले अन्तिम समय भएका कारण काम सुरु गर्दै गरौँ भनेर रु। पाँच लाख दिने घोषणा गर्नुभएको थियो । सोहीअनुसार समय पनि कम भएका कारण एउटा उपभोक्ता समिति बनाएर यो लेन निर्माणको काम गरिँदै छ । यो वास्तवमा सडक सबैको हो भन्ने भन्न सङ्केतका लागि मात्र हो ।
यस कार्यका लागि हिमालयन राइडर्सका साथी राजु थापा मगर रात रातभर प्राविधिकहरूसँग लेन कोर्दै हिँड्नुभएको छ । अन्य साथीहरू पनि उत्तिकै खट्नुभएको छ । निस्वार्थ भावले गरिएको यो सत्कर्ममा शङ्का उपशङ्का नगरौँ बरु केही कमजोरी भएका छन् भने सहज र सौहार्द्र रूपमा प्रस्तुत गरौँ । हेटौँडामा पनि साइकल लेन छ भन्ने अनुभूति होस् भनेर सुरु गरिएको यस कार्यलाई कमैले मात्र सकारात्मक रूपमा लिएको पाइयो । त्यसैले यसलाई एउटा सुखद सुरुवातको रूपमा लिइदिनुहुन र हेटौँडामा साइकल संरचनाका लागि केही त भयो भन्ने अर्थमा बुझिदिनुहुन पनि एउटा सरोकारवालाका हैसियतले विनम्र अनुरोध गर्दछु । यो काममा नवनिर्वाचित नगर प्रमुख र उपप्रमुखले अनियमितता नै गरे भन्ने शैलीको आलोचना अस्वाभाविक छ । किनकि यो अघिल्लो स्थानीय सरकारकै निर्णयको प्रतिफल हो । बरु यस कार्यलाई प्रोत्साहित गर्न नवनिर्वाचित नगर प्रमुख मीनाकुमारी लामाज्यू स्वयम् उपस्थित भएर हामीलाई हौसला प्रदान गर्नुभएको छ । नवनिर्वाचित उपप्रमुख राजेश बानियाँ तथा विभिन्न वडाका अध्यक्षहरूले पनि यस क्षेत्रमा थप कार्य गर्ने सकारात्मक प्रतिक्रिया दिनुभएको छ । यहाँ कसैको व्यक्तिगत या सामूहिक नकारात्मक स्वार्थले कुनै काम गरेको छैन । बरु साइकलको प्रयोगलाई प्रोत्साहित गर्न, सुरक्षित साइकल यात्राका लागि सचेतना अभिवृद्धिको प्रयास गरिएको छ ।
यो केही मानिसको मात्र सपना र सरोकारको विषय होइन, तपाईँ हामी सबैको आगत र भोलिको सुन्दर हेटौँडाको भविष्यसँग गाँसिएको विषय हो । यसका लागि कहाँ कहाँ के के गर्न सकिन्छ रु कसरी अघि बढ्दा प्रभावकारी हुन्छ रु आउनुहोस्, सबैले यस क्षेत्रमा सकारात्मक छलफल गरौँ १ हरेक कुरालाई नकारात्मक मात्र हैन सकारात्मक भएर पनि हेर्ने र सोच्ने परिपाटीको विकास गरौँ ।
धन्यवाद !