हेटौंडाः अखिल नेपाल किसान महासंघ मकवानपुरले रासायनिक मलको सहज उपलब्धता र बढ्दो महंगी नियन्त्रण गर्न मागसहित प्रमुख जिल्ला अधिकारी भरमणी पाण्डेलाई सोमबार ज्ञापन पत्र बुझाएको छ । किसानहरुले मुख्य बाली लगाउने समयमा देशभरी नै रासायनिक मलको चरम अभाव भएकोले समयमा मल उपलब्ध नहुँदा कृषि उत्पादनमा आँच आउन सक्ने भन्दै प्रजिअ पाण्डे मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
रासायनिक मलको अभाव र बढ्दो महंगीको मारमा किसानहरु परेको ज्ञापनपत्रमा उल्लेख छ । यस्तै, दैनिक उपभोग्यबस्तु, पेट्रोलियम पदार्थ, निर्माण सामाग्री, सवारी साधनको भाडा, समान ढुवानी, शिक्षा तथा अन्य कतिपय आधारभुत आवश्यकताका वस्तु र सेवाको मुल्य वृद्धि भएको उल्लेख गरिएको छ । महासंघले नेपाल सरकार महंगी नियन्त्रण गर्न, पेट्रोलियम पदार्थमा भएको मूल्य घटाई उपभोक्तालाई राहत दिन र रासायनिक मलको सहज आपूर्ति गर्न असक्षम भएको आरोप लगाएको छ । कृषि क्षेत्रमा राज्यले देखाएको उदाशिनता र किसानलाई उचित प्रोत्साहनको अभावका कारण कृषि उत्पादन र उत्पादकत्व घट्न गई आर्थिक वृद्धि, रोजगारी सिर्जना, गरिबी निवारणसमेतका अर्थतन्त्रका अन्य आयाममा समेत त्यसको प्रभाव पर्ने ज्ञापन पत्रमा जनाईएको छ ।
अखिल नेपाल किसान महासंघले रासायनिक मलको आपूर्तिमा भएको चरम अभावको अन्त्य गरी गुणस्तरीय मल समयमा सहज ढंगले उपलब्ध गराउन, इन्धनमा भएको मूल्यवृद्धि घटाउन र किसान र कृषि क्षेत्रसँग सम्बन्धित ११९ शुत्रीय मागहरु अभिलम्ब पूरा गर्न जोडदार माग गरेको छ । दोस्रो चरणमा मंगलबार मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । समयमा नै रासायनिक मल सहज नभएमा आन्दोलनमा जाने समेत अखिल नेपाल किसान महासंघले जनाएको छ । महासंघले तेस्रो चरणमा मल आपूर्ति गर्ने नेपाल सरकारका निकायहरु साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामाग्री कम्पनीका डिपोहरुमा तालाबन्दी गर्ने, स्थानीय समस्याहरु समेत उठाउँदै रचनात्मक ढंगले आन्दोलन गर्ने समेत चेतावनी दिएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य सम्राट तुम्बाहाम्फे, केन्द्रिय सदस्य सुस्मिता घोरासैनी, रामहरी बिस्ट र बिष्णु माया रुम्बा लगायतको उपस्थिति रहेको थियो ।