हेटौंडाः हेटौंडा–१८, खड्कुँलेस्थित मकवानपुर बालविद्या सदनले विद्यार्थीबीच लोकतान्त्रिक अभ्यासअन्तर्गत निर्वाचनको प्रक्रियाबारे बुझ्न र विद्यालयकै विद्यार्थी नेता तथा उपनेता र कक्षागत नेता छनोटका लागि निर्वाचनको अभ्यास गराएको छ । शुक्रबार भएको मतदानबाट स्कूल क्याप्टेनमा १० कक्षाकी विद्यार्थी कुसुम खड्का र भाइस क्याप्टेनमा ९ कक्षाकी सुजना सापकोटा चयन हुनुभएको छ ।
यस्तै कक्षागत क्याप्टेनमा कक्षा १० मा रुपेश घिमिरे, ९ मा विशेष तिमल्सिना, ८ मा समीर बिक, कक्षा ७ मा साहिल बिक, कक्षा ६ मा एल्जीना डिम्डुङ र कक्षा ५ मा मौलिक श्रेष्ठ चयन हुनुभएको छ । ५ कक्षादेखि १० कक्ष्ाँसम्मका विद्यार्थी निर्वाचनमा सहभागी थिए । नयाँ शैक्षिक सत्रका लागि भर्ना भएका विद्यार्थी मात्रै मतदाता बन्न पाउने गरी निर्वाचन गराइएको निर्वाचन समितिका संयोजक एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदीप राज गिरीले जानकारी दिनुभयो । नयाँ शैक्षिकसत्रमा भर्ना भएका १ सय ४५ जना विद्यार्थीमध्ये १ सय ४१ जनाले मतदान गरेका थिए । कुल खसेको मत मध्ये १ मत मात्रै बदर भएको थियो ।
निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवार र मतदाताबीच ककसको समेत आयोजना गरिएको थियो । लोकतान्त्रिक प्रणालीमा आवधिक निर्वाचनको विषयमा जानकारी गराउन, मतदानको अभ्यास गराउन वार्षिक रुपमा स्कूल क्याप्टेन, भाइस क्याप्टेन तथा कक्षागत क्याप्टेनको निर्वाचन गर्ने गरेको संयोजक गिरीको भनाइ छ । सामाजिक विषयमा लोकतन्त्रका बारेमा अध्ययन गर्नुपर्ने भएकोले विद्यार्थीलाई लोकतान्त्रिक प्रणालीको महत्वपूर्ण पाटोका बारेमा बुझाउन पनि निर्वाचनको अभ्यास गराइएको उहाँले स्पष्ट पार्नुभयो । निर्वाचित विद्यार्थीलाई सोमबार वडाअध्यक्ष र सदस्यको उपस्थितिमा प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्यक्रम गरिने छ । साथै विद्यालयले वडा अध्यक्ष र वडा सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको गिरीले जानकारी दिनुभयो ।
निर्वाचित विद्यार्थी नेतालाई जिम्मेवारी, अधिकारको जानकारी गराउने उद्देश्यले प्रशिक्षण प्रदान गर्ने बताइएको छ । विजयी विद्यार्थीलाई अभिमुखीकरण गरेर विद्यालय र कक्षाकोठामा अनुशासन कायम राख्ने, कक्षाकोठाका समस्या विद्यालय प्रशासनसम्म जानकारी गराउने जिम्मेवारी प्रदान गर्नुका साथै विद्यालयको निर्णायक तहमा उनीहरुलाई सहभागी गराइने विद्यालयले जनाएको छ । सहायक मतदान अधिकृत सिर्जना थापा मगर र विधान आचार्य हुनुहुन्थ्यो भने पर्यवेक्षकको रुपमा अभिभावक श्याम प्रसाद मैनाली, विद्यालय व्यवस्थापन समितिका सदस्य पुरुषोत्तम अधिकारी सहभागी हुनुहुन्थ्यो । १० कक्षासम्म पठनपाठन हुने विद्यालयमा ६ सय २५ विद्यार्थी अध्ययनरत छन् ।