हेटौंडाः रोटरी क्लब अफ हेटौंडाले हरेक बर्ष प्रदान गर्दै आएको एक्सिलेन्स अवार्डको राशी एक लाख रुपैयाँ हुने भएको छ । क्लबका पूर्वअध्यक्ष स्व. प्रजाराज वैद्यकी श्रीमति रुद्रकुमारी वैद्यले अवार्ड कोषका लागि ५ लाख रुपैयाँ सहयोग गर्नुभएसँगै अवार्डको राशी पनि बढाइने भएको हो ।
रोटरी क्लब अफ हेटौंडाका पूर्वअध्यक्ष ईन्द्रप्रसाद नेपालका अनुसार यसअघि ६ लाख रुपैयाँ रहेको कोषमा ५ लाख रुपैयाँ थप भएसँगै कोषको रकम ११ लाख रुपैयाँ पुगेको छ । कोषको व्याज आम्दानीबाट हरेक बर्ष प्रदान गर्दै आएको अवार्डको राशी पनि बढाइने भएको पूर्वअध्यक्ष नेपालले बताउनुभयो । यसअघि एक्सिलेन्स अवार्ड भनेर रोटरी क्लब अफ हेटौंडाले २५ हजार नगदसहित सम्मान गर्ने गरेको थियो ।
शनिबार मात्रै रोटरी क्लब अफ हेटौंडाले न्यूरोलोजिस्ट प्रा.डा. गोपालरमण शर्मा, एसियाकै पहिलो फिफा रेफ्री कल्पना शर्मा र मुटुस्वास्थ्य विशेषज्ञ प्रा.डा. प्रेमराज वैद्यलाई एक्सिलेन्स अवार्ड प्रदान गरेको थियो ।