हेटौंडाः विश्व सुर्तीजन्य पदार्थरहित दिवसमा मंगलबार हेटौंडामा सञ्चारकर्मीहरुसँग अन्र्तक्रिया कार्यक्रम भएको छ । दिवस “सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ” भन्ने नारासहित अन्तरक्रिया कार्यक्रम भएको हो । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजनामा भएको कार्यक्रममा सुर्तीजन्य पदार्थ सेवनको कुलतमा लागेका व्यक्तिहरुले आजैदेखि सेवन नर्गन आग्रह गरिएको छ ।
धुम्रपानको स्थिति, असर र रोकथाम, सुर्तीजन्य पदार्थ नियन्त्रण र नियगमन गर्ने ऐन—२०६८ बारे डाक्टर शम्भु काफ्लेले सहजीकरण गर्नुभएको छ । नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट बर्सेनी २७ हजारको मृत्यु हुने गरेको उहाँले जानकारी दिनुभयो । नेपालमा धूम्रपान गर्नेको संख्या २८ दशमलब ९ प्रतिशत (सन २०१९) रहेको जानकारी गराउनुभयो । जसमा ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिला रहेका छन् । जसकारण २८ प्रतिशत मुटुको रोग निम्त्याउने गरेको उहाँले बताउनुभयो ।
४ हजारभन्दा बढी विषालु रासायनिक तत्व, २ वटादेखि ४ वटासम्म हानिकारक रसायनहरु सुर्तीजन्य पदार्थमा हुने उहाँले जानकारी दिनुभयो । उहाँले ४० प्रकारका रसायनले भने क्यान्सर रोग नित्याएको तथ्य रहेको दाबी गर्नुभयो । सुर्तीजन्य पदार्थ बेचविखनमा २५ प्रतिशत कर, सार्वजनिक स्थलमा धुम्रपान निषेध, प्रचारप्रसार तथा विज्ञापनमा रोक र सुर्तीजन्य पदार्थ उत्पादनमा नियन्त्रणले गर्दा सार्वजनिक रुपमा सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या कम हुँदै गएको उहाँको धारणा छ । ऐनले सार्वजनिक स्थलमा ६३ प्रतिशत नेपालीहरुको स्वास्थ र अधिकारलाई सुरक्षित गर्ने प्रयास गरेको छ ।
सार्वजनिक स्थलको सय मिटर वरपर रहेको पसलबाट सुर्तीजन्य पदार्थ बिक्रीवितरण गरिए दफा ११ विपरीत १० हजार रुपैयाँ जरिवाना तोकिएको छ । सार्वजनिक स्थलमै सुर्तीजन्य पदार्थ सेवन गरिनेहरुलाई एक सय रुपैयाँ जरिवाना तोकिएको छ । यस्तै, प्रचारप्रसार तथा विज्ञापन गरिए दफा १० विपरित एक लाख रुपैयाँ जरिवाना तोकिएको उहाँले जानकारी दिनुभयो । दफा ११, सार्वजनिक स्थल र वरपर सुर्तीजन्य पदार्थ सेवन तथा बिक्री गर्न रोक भने कार्यान्वयन हुन नसकिएको उहाँको धारण छ । कार्यक्रम स्वास्थ्य निर्देशक महेश्वरमान श्रेष्ठको सभाध्यक्षतामा भएको थियो ।











