हेटौंडाः बागमती प्रदेश सरकारको १०औं अधिवेशनमा ५ वटा अध्यादेश पेश भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रदेश निजामति सेवाको गठन, संचालन र सेवाको सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८, स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ सभामा पेश गर्नुभएको छ ।
यस्तै, आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण प्रसाद खनालले विभुषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गर्नुभएको छ । स्वास्थ्य मन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र यूवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालले प्रदेश यूवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गर्नुभएको छ । प्रदेश सभाको दोस्रो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले विनियोजन विधेयक २०७९ का सिद्धान्त र प्राथमिकता सभामा प्रस्तुत गर्नुभएको थियो ।