हेटौंडाः शुक्रबार बागमति प्रदेशको १०औं अधिवेशनमा स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका हर्क र बालेनको चर्चा भएको छ । स्वतन्त्र उम्मेदवारी दिएर धरानका मेयर बन्नु भएको हर्क साङपाङ र काठमाडौंको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अप्रत्यासित मत आएको भन्दै सभामा चर्चा भएको हो ।

व्यक्ति राम्रो भए जनताले राजनीति फेर्ने प्रदेश सभाका सदस्यहरुको भनाइ छ । प्रदेश सभा सदस्य रमेश पौडेलले स्थानीय तह निर्वाचनले राजनीतिलाई दिएको सन्देश मनन् गर्नुपर्ने बताउनुभएको छ । निर्वाचनले सिकाएका पाठ र शिक्षा बुझ्नु पर्छ भन्दै उहाँले निष्ठापूर्वक लागेमा राजनीतिक दलबाहेक पनि नागरिकले पत्याउने बलियो उदाहरण हर्क र बालेन रहेको बताउनुभयो । ठूला दलहरुसँगको प्रतिस्पर्धामा बालेनको मेयर हुँदा ईतिहासमा बिरलै हुने घटना भएको उहाँले दाबी गर्नुभयो ।

मूल्यवृद्धिले चरम सिमा नाघेको भन्दै पौडेलले भ्रष्टाचार र वैदेशिक रोजगारीमा हजारौं यूवाहरु विदेश जानु पर्ने बाध्यताको अन्त्य हुन जरुरी रहेको औल्याउनुभयो । उहाँले भन्नुभयो, ‘आउँदो ६ महिनामा प्रदेश र संघको निर्वाचन हँुदैछ । त्यसमा यूवाहरुले प्रण गर्नुपर्नेछ । पार्टीवादभन्दा पनि सचेत यूवाहरुले बिद्रोह गरेर देशव्यापी रुपमा हर्क र बालेनहरु जन्मिनु पर्छ । त्यसले लुटतन्त्र र लोकतन्त्र बीचको लडाई हो । लोकतन्त्रको पक्षमा उभिन यूवाहरुलाई प्रेरणा मिलोस् ।’

प्रदेश सभा सदस्य रिना गुरुङले काठमाडौं, धरान र धनगढीमा ठूला दलहरु पछाडी परेर स्वतन्त्र उम्मेदवार विजयी भएको भन्दै अब पनि राजनीतिक दल सुध्रीएन भने अस्तित्व नै नरहने दाबी गर्नुभयो । उहाँका अनुसार बहुदलपछि ठूला दलहरुले देश खोक्रो भएको छ, अब पनि सुध्रीएन भने भोलिका दिनमा दलहरुको अस्तित्व नै रहँदैन । प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले राजनीतिक दलले काम र व्यवहारमा प्रतिस्पर्धा गर्न अनुरोध गर्नुभएको छ । जनताको आवश्यकता अनुसार काम गर्न र जनताको सेवा गर्न गठबन्धन भएको उहाँले स्पष्ट पार्नुभयो ।