हेटौंडाः पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध प्रदर्शन गर्ने नेकपा एमाले निकट विद्यार्थी संगठनका नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पस अगाडि मूल्यवृद्धिको विरोध गर्ने क्रममा सरकारी सवारी साधनलाई रोकेर चाबी नै खोस्न थालेपछि प्रहरीले विद्यार्थी नेताहरुलाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रहरीले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का स्थायी कमिटी सदस्य सन्तोष पौडेल, जिल्ला कमिटि उपाध्यक्ष भुवन मैनाली, जिल्ला कमिटी सचिव पुस्कर तिमल्सिना र युवा संघ नेता राजकुमार घिमिरेलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैजनालाई सवारी साधनको चावी नखोस्ने सर्तमा रिहा गरिएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिनुभयो । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठनले मूल्यवृद्धिको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।











