हेटौंडाः स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक भएसँगै कार्यपालिका सदस्यको निर्वाचन प्रक्रिया अघि बढेको छ । स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम प्राप्त भएको १५ दिनभित्र कार्यपालिका सदस्यको निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्थाका कारण निर्वाचन प्रक्रिया सञ्चालन भइरहेको हो ।
प्रत्येक स्थानीय तहको अध्यक्ष वा प्रमुख, उपाध्यक्ष वा उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरुको निर्वाचन सम्पन्न भइसकेपछि कार्यपालिकाका थप सदस्यको निर्वाचन गरिन्छ ।
गाउँ वा नगरपालिकाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको १५ दिनभित्र निर्वाचित प्रतिनिधिले आफूमध्येबाट गाउँपालिकामा चार जना र नगरपालिकामा पाँच जना महिला सदस्य निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसैगरी दलित वा अल्पसंख्यक समुदायबाट गाउँ वा नगर सभाले निर्वाचित गरेको गाउँपालिकामा दुई जना र नगरपालिकामा तीन जनासमेतको कार्यपालिका गठन हुने संविधानको धारा २१५ मा उल्लेख छ । कार्यपालिका सदस्य निर्वाचनका लागि पालिकाभित्रका निर्वाचित प्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य मतदाता रहने व्यवस्था छ ।
स्थानीय तहको कार्यकारिणी अधिकार प्रयोग गर्ने आधिकारिक निकाय नै गाउँ र नगर कार्यपालिका हो । प्रत्येक पालिकाको कार्यपालिकामा प्रमुख र उपप्रमुख एक–एक जना, प्रत्येक वडाबाट निर्वाचित वडाध्यक्ष कार्यपालिकाको सदस्य हुन्छन् । यस्तै, निर्वाचित प्रतिनिधिले निर्वाचन गर्ने गाउँपालिकामा ४ जना र नगरपालिकामा ५ जना महिला सदस्यका साथै गाउँ वा नगर सभाले निर्वाचित गरेको गाउँपालिकामा दुई जना र नगरपालिकामा तीन जना सदस्य रहेको कार्यपालिका गठन हुने संवैधानिक व्यवस्था छ ।
मकवानपुर जिल्लामा पनि बैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएपछि विभिन्न पालिकामा कार्यपालिका सदस्य निर्वाचनको प्रक्रिया सुरु भएको हो । १० वटा स्थानीय तह रहेको मकवानपुर जिल्लामा केही पालिकामा निर्वाचन सम्पन्न भइसकेको छ भने केही पालिकामा निर्वाचन प्रक्रिया चलिरहेको छ । प्रत्येक पालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयले नै गाउँ वा नगर कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न गर्ने कानुनी व्यवस्था रहेको छ ।
मनहरीमा आज मनोनयन दर्ता
हेटौंडाः मनहरी गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनअन्तर्गत् उम्मेदवारको मनोनयन दर्ता आज बिहीबार हुने भएको छ । उम्मेदवार मनोनयन दर्ता बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म हुने मनहरीका निर्वाचन अधिकृत पूर्णबहादुर दर्जीले बताउनुभयो ।
निर्वाचन अधिकृत दर्जीका अनुसार १३ गते उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिने र १५ गते निर्वाचन हुने भएको छ । मतदान बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ । निर्वाचनबाट ६ जना कार्यपालिका सदस्य निर्वाचित हुनेछन् । नवनिर्वाचित जनप्रतिनिधिबाट ४ जना महिला सदस्य र दलित वा अल्पसंख्यकबाट २ जना कार्यपालिका सदस्यमा निर्वाचित हुने दर्जील बताउनुभयो । नवनिर्वाचित पालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य गरी ४७ जनाले मतदान गर्नेछन् ।
मकवानपुरगढीमा निर्विरोध
हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् । मंगलबार भएको उम्मेदवारी मनोनयन दर्तामा ९ जनाले उम्मेदवारी दर्ता गरेकोमा बुधबार ३ जनाले उम्मेदवारी दर्ता फिर्ता लिएपछि कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएको मकवानपुरगढीका निर्वाचन अधिकृत नारनप्रसाद पोखरेलले बताउनुभयो ।
कार्यपालिका सदस्य निर्वाचित हुनेमा ४ जनामा महिलामध्ये नेकपा एमालेबाट मञ्जकुमारी गोेले योञ्जन निर्वाचित हुनुभएको छ । त्यस्तै नेपाली कांग्रेसबाट पातलीमाया गोले, नन्दकुमारी विश्वकर्मा र फूलमाया टुप्पा निर्वाचित हुनुभएको छ । दलित सदस्य पदमा नेपाली कांग्रेसबाट सावित्री विश्वकर्मा र नेकपा माओवादी केन्द्रबाट दुर्गाबहादुर विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएको छ ।
भीमफेदीमा मनोनयन दर्ता
हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकामा कार्यपालिका सदस्य निर्वाचनका लागि बुधबार उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचनबाट ६ जना कार्यपालिका सदस्य निर्वाचित हुनेछन् ।
बिहीबार उम्मेदवारविरुद्ध दावी बिरोधको समय रहेको छ । १३ गते उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिने र १४ निर्वाचन हुने भीमफेदीका निर्वाचन अधिकृत रुद्रहरि भण्डारीले बताउनुभयो । नवनिर्वाचित जनप्रतिनिधिबाट ४ जना महिला सदस्य र दलित वा अल्पसंख्यकबाट २ जना कार्यपालिका सदस्यमा निर्वाचित हुने भण्डारीले बताउनुभयो । नवनिर्वाचित पालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य गरी ४७ जनाले मतदान गर्नेछन् ।
राक्सिराङमा मतदाता नामावली प्रकाशन
हेटौंडाः राक्सिराङ गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनका लागि बुधबार मतदाता नामावली प्रकाशन भएको छ । बिहीबार १ बजेबाट उम्मेदवारी दर्ता हुने राक्सिराङका निर्वाचन अधिकृत गोपालप्रसाद कँडेलले जनकारी दिनुभयो ।
निर्वाचन अधिकृत कँडेलका अनुसार उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुलाई १३ गते निर्वाचन चिह्न प्रदान गरिने र १५ गते मतदान हुने भएको छ । मतदान बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म हुनेछ । निर्वाचनबाट ६ जना कार्यपालिका सदस्य निर्वाचित हुनेछन् । नवनिर्वाचित जनप्रतिनिधिबाट ४ जना महिला सदस्य र दलित वा अल्संख्यकबाट २ जना सदस्य निर्वाचित हुने कँडेलले बताउनुभयो । नवनिर्वाचित पालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य गरी ४७ जनाले मतदान गर्नेछन् ।
कैलाशमा उम्मेदवारी दर्ता
हेटौंडाः कैलाश गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता भएको छ । गाउँ कार्यपालिका सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गरिएको कैलाश गाउँपालिकाका निर्वाचन अधिकृत मुकुन्दहरि पौड्यालले जनकारी दिनुभयो ।
उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुको १४ गते नामावली प्रकाशन हुने र १७ गते मतदान हुने उहाँले बताउनुभयो । निर्वाचनबाट ६ जना कार्यपालिका सदस्य निर्वाचित हुनेछन् । नवनिर्वाचित जनप्रतिनिधिबाट ४ जना महिला सदस्य र दलित वा अल्संख्यकबाट २ जना सदस्य निर्वाचित हुने पौड्यालले बताउनुभयो । नवनिर्वाचित पालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य गरी ५२ जनाले मतदान गर्नेछन् ।
बागमतीमा १७ गते मतदान हुने
हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकाको कार्यपालिका सदस्य चयनका लागि १७ गते मतदान हुने भएको छ । कार्यपालिका सदस्य निर्वाचनका लागि १४ गते मतदाता नामावली प्रकाशन हुनेछ । १५ गते मनोनयन दर्र्ता हुने र १७ गते मतदान हुने बागमती गाउँपालिकाका निर्वाचन अधिकृत हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
उपाध्यायका अनुसार निर्वाचनबाट ६ जना कार्यपालिका सदस्यमा निर्वाचित हुनेछन् । नवनिर्वाचित जनप्रतिनिधिबाट ४ जना महिला सदस्य र दलित वा अल्संख्यकबाट २ जना कार्यपालिका सदस्यमा निर्वाचित हुने उपाध्यायले बताउनुभयो । नवनिर्वाचित पालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य गरी ४७ जनाले मतदान गर्नेछन् ।
बकैयामा उम्मेदवारको नामावली प्रकाशन
हेटौंडाः बकैया गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनका लागि बुधबार उम्मेदवार मनोनयनको नामावली प्रकाशन गरिएको छ । कार्यपालिकाको महिला सदस्य र दलित वा अल्पसंख्यक सदस्य निर्वाचनका लागि उम्मेदवार दर्ता गराएकाहरुको नामावली प्रकाशन गरिएको निर्वाचन अधिकृतको कार्यालय बकैयाले जानकारी दिएको छ । गाउँ कार्यपालिकाको ४ जना महिला सदस्यका लागि ८ जनाको उम्मेदवारी दर्ता भएको र २ जना दलित वा अल्पसंख्यक सदस्यको लागि ६ जनाको उम्मेदवारी दर्ता भएको कार्यालयले जनाएको छ ।
थाहामा सदस्य चयन
हेटौंडाः मकवानपुरको थाहा नगरपालिकाको कार्यपालिका सदस्य चयन भएका छन् । मंगलबार भएको निर्वाचनबाट कार्यपालिकामा प्रतिनिधित्व गर्ने ५ जना महिला सदस्य र ३ जना दलित तथा अल्पसंख्यक सदस्य निर्वाचित भएका हुन् ।
निर्वाचनबाट माओवादी केन्द्रका रितु कार्की, अञ्जु श्रेष्ठ, अनिता बल, चन्द्रमाया थिङ र पवित्रा कार्की ठकुरी निर्वाचित भएका छन् । निर्वाचित पाँचै जना महिला सदस्य नेकपा माओवादी केन्द्रका हुन् । यसैगरी दलित वा अल्पसंख्यक सदस्यमा रामप्रसाद विश्वकर्मा, राम दर्जी र जनकबहादुर कामी निर्वाचित भएका छन् । विश्वकर्मा र दर्जी माओवादी तथा कामी एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन् ।









