वृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुहुँदै सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जन ।

हेटौंडाः हेटौंडा–१, भिन्तुनापथस्थित मकवानपुर सहकारी अस्पतालको बार्षिकोत्सवको अवसरमा हेटौंडा–२ स्थित ओम वृद्धाश्रमलाई सहयोग गरिएको छ । अस्पतालको १४ औँ स्थापना दिवसको अवसरमा मंगलबार आश्रमलाई नगद सहयोग गरिएको हो ।

मकवानपुर सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जनले आश्रमलाई २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको अस्पताल प्रशासन अधिकृत रामचन्द्र रेग्मीले जानकारी दिनुभयो । नगदसहित सहकारी अस्पतालले फलफुल र तरकारी पनि सहयोग गरेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा सहकारी अस्पतालका सञ्चालक, चिकित्सक, कर्मचारीको पनि सहभागिता रहेको थियो ।

बार्षिकोत्सवको अवसरमा मंगलबार पहिलो सेवाग्राहीलाई सेवाशूल्कमा ५० प्रतिशत छुट समेत प्रदान गरेको छ । अस्पतालले मंगलबारबाट जेठ महिनाभरि पूरा शरीरको जाँचमा सहुलियत प्रदान गरेको रेग्मीले बताउनुभयो । अस्पतालले स्थापना दिवसको अवसरमा सोमबार रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।