पहिलो निर्णयमा हस्ताक्षर गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा ।

हेटौंडाः बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा, उपमेयर राजेश बानियाँसँगै वडा अध्यक्ष, सदस्यहरुले सोमबार पदभार ग्रहण गरेका छन् । सोमबार बिहान मुख्य निर्वाचत अधिकृतबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरिसकेपछि पदभार ग्रहण गरिएको हो ।

सोमबार पदभार ग्रहणपछि मेयर मीना कुमारी लामाले अति विपन्न १ हजार ५ सय ४१ घर परिवारलाई निशूल्क स्वास्थ्य बीमा गरिदिने, मासिक १५ हजार लिटर पानी, २५ युनिट विजुली निशूल्क उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै आर्थिक अवस्थाका कारणले शिक्षा हासिल गर्नबाट बञ्चित विद्यार्थीलाई मेयर छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने, सडक विस्तार गर्ने क्रममा सडकमै रहेका विद्युतका पोलहरु सार्ने निर्णय पनि गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले गर्नुभएको पहिलो निर्णयको विवरण ।

उपमहानगरले गठन गरेको महिला जागरण समूहमार्फत लैंगिक हिंसाविरुद्धका अभियानहरु सञ्चालन गर्दै पीडित, प्रभावित महिला तथा बालबालिकाका लागि अल्पकालिन आश्रयस्थल (सेफ हाउस) मार्फत प्रभावकारी पुनस्र्थापनाको कार्य गर्ने निर्णय गरिएको छ ।