कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै दीपक सिंह ।

हेटौंडाः बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मेयर पदमा पराजित हुनु भएको राप्रपाका दीपक बहादुर सिंहले चुनाव हार्दा पनि जितेको अनुभूति भएको बताउनुभएको छ । आईतबार हेटौंडामा कार्यकर्तालाई सम्बोधन गर्दै राप्रपाका उम्मेदवार दीपक सिंहले छोटो समयमा पनि राप्रपाले जनताको मन जित्न सकेको भन्दै कार्यकर्तालाई धन्यवाद दिनुभएको छ ।

राप्रपाले मेयरमा पराजय हुँदा पनि सम्मानजनक मत प्राप्त गरेको भन्दै उहाँले कार्यकर्तालाई धन्यवाद दिनुभएको हो । उहाँले भन्नुभयो, “चुनावमा हार जित हुन्छ । म त पटक–पटक हारेको मान्छे । तर, त्यो हार र यो हारमा आकाश पाताल फरक छ । अहिले पराजय हुँदा पनि मलाई जितेको अनुभुति भईरहेको छ ।” राप्रपाले हेटौंडामा पराजय हुँदा पुरै नेपालमा तहल्का मच्चिएको उहाँको भनाई छ । अहिले राप्रपा मकवानपुर जिल्लामा मजबुद हुँदै गएको उहाँले दाबी गर्नुभयो । उहाँले थप्नुभयो, “हामीले सोचेको भन्दा धेरै विश्वाससहित हामीलाई अत्याधिक मत प्राप्त भएको छ । प्राप्त मतको उच्च कदर गर्छु । म हेटौंडामा बसेर नै मतदाताको सेवामा काम गर्छु ।”

राप्रपाले संगठन बिस्तारमा काम गर्नुपर्ने भन्दै उहाँले कार्यकर्तालाई त्यसतर्फ ध्यान दिन अनुरोध गर्नुभयो । विकासको लागि भ्रष्टचारमुक्त समाज निर्माणको लागि राप्रपाले काम गर्ने उहाँले बताउनुभयो । विजयी भएर राम्रो काम गर्ने जनप्रतिनीधिलाई फुलमालासहित सम्मान गर्ने भन्दै उहाँले भ्रष्टचार गर्ने, कर मात्र लिने, ब्रह्मलुट गरेमा विरोधमा उत्रिने चेतावनी दिनुभयो ।