हेटौंडाः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यास सबै इन्धनको मूल्यवृद्धि गरेको छ हो ।
आयल निगमले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको जनाएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २ सय रुपैयाँ वृद्धि गरेको छ । यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १० रुपैयाँ वृद्धि भएको निगमले जनाएको छ ।
मूल्यवृद्धि गरेको करिब एक सातामै आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको हो । यसअघि वैशाख ३१ गते मात्र सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १० रूपैयाँ वृद्धि गरेको थियो । आइतबार रातिबाट वृद्धि भएको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १८० रुपैयाँ पर्नेछ । मट्टितेल र डिजेलको मूल्य १६३ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ८ सय रुपैयाँ पर्ने भएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि वृद्धि भई १६६ भएको आयल निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले मूल्य बढाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । भारतीय आयल कर्पोरेशन (आइओसीले) पठाएको पछिल्लो मूल्यका आधारमा आयल निगमले मूल्य समायोजन गरेको बताएको छ । समायोजनपछिको मूल्यमा पनि निगमलाई १५ दिनमा ३ अर्ब ३६ करोड घाटा हुने निगमले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।
निगमलाई महिनामा ग्यासमा करिब तीन अर्ब घाटा हुने निगमको दावी छ । यस्तै, डिजेलमा करिब तीन अर्ब ४० करोड र पेट्रोलमा एक अर्ब रुपैयाँ मासिक घाटा हुने देखिएको निगमले जनाएको छ । मूल्यवृद्धि पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ६४ पैसा घाटा रहेको निगमले जानकारी दिएको छ । यस्तै, डिजेलमा प्रतिलिटर २६ रुपैयाँ ८२ पैसा घाटा रहेको निगमले जनाएको छ । खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ८ सय ८० रुपैयाँ घाटा रहेको निगमको दावी छ ।
निगमलाई मट्टितेल र हवाई इन्धनमा भने नाफा छ । मट्टितेलमा प्रतिलिटर २२ रुपैयाँ नाफा हुनेछ । यस्तै, आन्तरिकतर्फको हवाई इन्धनमा १४ रुपैयाँ र बाह्यतर्फको हवाईइन्धनमा ६० रुपैयाँ नाफा रहेको निगमले जनाएको छ ।