Home मुख्य समाचार लक डाउनमा शिक्षकको व्यस्तता, पुस्तक लेखनदेखि आगामी शैक्षिकसत्रको योजना बनाउँदै

लक डाउनमा शिक्षकको व्यस्तता, पुस्तक लेखनदेखि आगामी शैक्षिकसत्रको योजना बनाउँदै

शिक्षक सरोज लामिछाने लक डाउनको समयमा पुस्तकको तयारीमा व्यस्त ।

हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले विश्वलाई आतङ्कित बनाएपछि नेपाल सरकारले मंगलबार बिहानदेखि लागु हुने गरी लकडाउन अर्थात आम नागरिकलाई घरमै सुरक्षित रहन निर्देशन जारी गरेको छ । जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न राष्ट्रले लकडाउन गरेपछि विश्वमा अहिले सन्नाटा छाएको छ । नेपालमा पनि मंगलबारदेखि लकडाउन गरिएको छ । अहिले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरिएका छन् । शिक्षण संस्थाहरू भने चैत ६ गतेदेखि नै बन्द गरिएका छन् । मकवानपुरका विद्यालय पनि चैत ६ गतेदेखि बन्द भएपछि शिक्षकहरू अहिले फुर्सदमा छन् ।
फुर्सदको समयलाई सदुपयोग गर्दै कतिपय शिक्षकहरू सिर्जनात्मक काममा लागेका छन् भने कतिपय मनोरञ्जनात्मक कार्यक्रम हेरेर त कोही आफ्ना बालबालिकालाई सिर्जनात्मक काममा लगाएर दिन बिताउन थालेका छन् । हेटौंडा–६, चौघडाका शिक्षक सरोज लामिछाने अहिले घरमै सेल्फ क्वारेन्टाइनमा बस्दा सिर्जनात्मक काममा लाग्नु भएको छ । उहाँ शिक्षक सेवा आयोगको मावि तहको अङ्ग्रेजी विषयको विषयगत पुस्तकको तयारी गर्दै हुनुहुन्छ । साथै हिमालय टाइम्समा पनि शिक्षासम्बन्धी अङ्ग्रेजी भाषामा लेख प्रकाशन गर्नुहुन्छ । उहाँ अहिले यसको तयारी गर्दै हुनुहुन्छ । यस्तै हेटौंडा–११, थानाभर्याङ निवासी शिक्षक माधव गौतम घरमै बसेर विद्यालयको नतिजा प्रकाशनको तयारी गर्दै हुनुहुन्छ । वंशगोपाल माविमा अध्यापनरत शिक्षक गौतम विद्यालयको परीक्षा समितिमा हुनुहुन्छ । उहाँ नतिजा तयारी गर्दै हुनुहुन्छ । घरमै बसेर नयाँ सफ्टवेयरमा कक्षा नर्सरीदेखि ९ सम्मको प्राप्ताङ्क राख्ने काम गरिरहनुभएको छ ।
हेटौंडा–८, कमानेस्थित चन्द्रोदय माविका शिक्षक रमेशमोहन अधिकारी लकडाउनको समयलाई सदुपयोग गर्दै घरमै बसेर नेपाली व्याकरणसम्बन्धी किताबको तयारी गर्दै हुनुहुन्छ । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि उपयोगी हुने र नयाँ शैक्षिकसत्रमा प्रकाशन गर्ने गरी अधिकारी अहिले पुस्तकको तयारी गर्दै हुनुहुन्छ । हेटौंडा–९ स्थित प्रगति माविका शिक्षक किशोर पराजुली भने यो समयमा शिक्षामूलक तथा प्रेरणात्मक चलचित्र हेर्ने गरेको बताउनुहुन्छ । यसबाहेक उहाँ पनि विद्यालयको नतिजा प्रकाशनको तयारी तथा एमफिलको लागि आवश्यक सामग्री तयार गरिरहनुभएको छ । बकैया गाउँपालिकाको हात्तिसुँडेस्थित बुद्ध माविका प्रधानाध्यापक छविलाल विकले पनि घरमै बसेर सिर्जनात्मक काम गरिरहनुभएको छ । बिक पनि विभिन्न लेख तथा पत्रपत्रिकाहरू पढिरहनुभएको बताउनुहुन्छ ।
हेटौंडा–१३, पदमपोखरीस्थित महेन्द्र माविका प्रधानाध्यापक विष्णु श्रेष्ठ घरमै बसेर विद्यालयको काम गरिरहनुभएको छ । आगामी शैक्षिकसत्रको नयाँ योजना बनाउने काम गरिरहेको उहाँले बताउनुभयो । प्रगति माविका प्रधानाध्यापक निरन्जनप्रसाद ढकाल पनि विद्यालयको आगामी शैक्षिकसत्रको योजना तयारी गर्दै हुनुहुन्छ । हेटौंडा–१२ स्थित बुद्ध माविका शिक्षक मनिलकुमार महतो आफ्ना बालबालिकालाई सिर्जनात्मक काममा लगाएर घरमै बस्ने गरेको बताउनुहुन्छ । उहाँ आफ्ना छोराहरूलाई विभिन्न चित्र तथा लेख्ने काममा लगाएर समय बिताइरहनुभएको छ ।