मकवानपुरको मनहरी गाउँपालिकास्थित पशुपतिनाथ माविका शिक्षकहरु भर्ना अभियानमा विद्यार्थीको घरदैलो जाँदै ।

हेटौंडाः मकवानपुरमा मंगलबारबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । जेठ महिनाको पहिलो हप्ताबाट पठनपाठन सुरु गर्ने तयारी भए पनि सबै विद्यालयमा पठनपाठन सुरु भएको छैन । नयाँ शैक्षिक सत्र सुरु भए पनि कतिपय विद्यालयहरुले भर्ना अभियान सञ्चालन गरिरहेका छन् । केही विद्यालयले बैशाख महिनामै भर्ना अभियान सञ्चालन गरेका थिए । कोरोना महामारीका कारण बैशाखबाट सुरु हुनुपर्ने शैक्षिक सत्र यसवर्ष जेठबाट सुरु भएको हो ।

बैशाख महिनाभर विद्यालयहरुले परीक्षा सञ्चालन गरी वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेका थिए । भर्ना अभियान सञ्चालनका लागि छुट्याइएको ३ दिन स्थानीय चुनावका कारण प्रभावित बनेको थियो । जसकारण अहिले विद्यालयहरु भर्ना अभियानमै रहेको हेटौंडा—४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरवंश बैैठाले जानकारी दिनुभयो । बिहीबार विद्यालयले नयाँ भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन गर्दैछ । परीक्षापश्चात् नयाँ विद्यार्थी भर्नाको संख्या यकिन हुने बैठाले बताउनुभयो । निर्वाचन तथा ढिला शैक्षिक सत्र सुरु भएका कारण हालसम्म भर्ना अभियानमै विद्यालय रहेकाले जेठ ९ गतेदेखि मात्र पठनपाठन सुरु हुने उहाँले जानकारी दिनुभयो ।

हेटौंडा–४ स्थित श्रमिक माविमा बालविकास कक्षामा भर्ना भएका विद्यार्थीहरु विद्यालयमा रमाउँदै ।

यसैगरी सोही वडामा रहेको भूटनदेवी माध्यमिक विद्यालयमा पनि भर्ना अभियान सञ्चालन भइरहेको छ । जेठको पहिलो हप्ताबाट नयाँ शैक्षिक सत्र सुरु हुने बताइए पनि जेठ ८ गतेदेखि मात्र पठनपाठन सुरु हुने भूटनदेवी माविका शिक्षक मुकेश मिश्रले जानकारी दिनुभयो । हेटौंडा–४ कै श्रमिक माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्र सुरु भएकै दिनबाट पठनपाठन सुरु गर्ने तयारी गरेको विद्यालयका प्रधानाध्यापक श्रीराम दहालले जानकारी दिनुभयो । पहिलो दिन विद्यार्थीको उपस्थिति ज्यादै न्यून भएका कारण हाजिरी लिएर छाडिएको उहाँले बताउनुभयो । विद्यालयले यस वर्षबाट कक्षा नर्सरी, केजी, १ र ६ मा पूर्ण अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने प्रधानाध्यापक दहालले जानकारी दिनुभयो ।

हेटौंडा—१ स्थित अमर माध्यमिक विद्यालयमा पनि नयाँ शैक्षिक सत्र सुरु भएको दिनबाटै पठनपाठन सुरु भएको छ । विद्यालयले पठनपाठन सुरु गरिए पनि विद्यार्थीको न्यून उपस्थितिका कारण दुई घण्टीमात्र पढाइ भएको विद्यालयका प्रधानाध्यापक मालती उप्रेतीले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनका कारण भर्ना अभियान प्रभावित बनेकाले मंगलबारदेखि भर्ना अभियान सुरु भएको उहाँले जानकारी दिनुभयो । भर्ना अभियान सुरु भएको पहिलो दिन ३१ जना विद्यार्थी भर्ना भएको उहाँले बताउनुभयो ।

जानजागृति माध्यमिक विद्यालयले नयाँ भर्ना भएका विद्यार्थीलाई शैक्षिक सत्र सुरु भएको पहिलो दिन स्वागत कार्यक्रम राखेको छ । निर्वाचनको मतगणना भइरहेका विद्यालयहरुमा भने अझै पठनपाठनसँगै भर्ना अभियान सुरु गर्न केही समय लाग्ने भएको छ । केही पालिकामा अझै मतगणना सम्पन्न नभएका कारण पठनपाठन प्रभावित हुने भएको छ ।