हेटौंडाः स्थानीय तहको निर्वाचनअन्तर्गत बैशाख ३० गते भएको मतदान कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका १ लाख ४ हजार ४ सय ७३ जना मतदातामध्ये ७१ प्रतिशत अर्थात ७४ हजार १ सय ८५ जनाले मतदान गरे । बैशाख ३१ गते बिहानदेखि हेटौंडा–२ स्थित सिद्धार्थ माविमा मतगणनाको कार्य सुरु भएको छ ।
डेढ दिनको अवधिमा आइतबार दिउँसो २ बजेसम्ममा करिब १० प्रतिशत मत गणना भइसकेको छ । अझै करिब ९० प्रतिशत अर्थात ६६ हजार ७ सय २३ मत गणना हुन बाँकी छ । डेढ दिन पूरा भइसक्दा पनि हेटौंडा उपमहानगरपालिकाको एउटा वडाको पनि नतीजा सार्वजनिक हुन सकेको छैन । मतगणना सुस्त भएको भन्दै सर्वसाधारणले आलोचना गरिरहेका बेला निर्वाचन अधिकृतको कार्यालयले भने छिटो मतगणना गर्ने योजना बनाउन सकेको छैन ।
हेटौंडा उपमहानगरपालिकाको १, २, १८ र १९ नम्बर वडाको ७ हजार ४ सय ६२ मत गणना हुँदा मेयरका उम्मेदवार गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामाले २ हजार २ सय ५५ मत पाएकी छन् । यस्तै नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले २ हजार ८४ मत पाएका छन् भने राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले १ हजार ८ सय ४४ मत पाएका छन् ।
