
हेटौंडाः शुक्रबार स्थानीय तह सदस्य निर्वाचनको मतदान सम्पन्न भएको छ । बहुदलीय प्रजातान्त्रिक व्यवस्था भएका कारण दलगत राजनीतिबाट निर्वाचन धेरै हदसम्म प्रभावित भइरहेको छ । फरक राजनीतिक दलका उम्मेदवार र मतदाताबीच निर्वाचनको बेलामा प्रतिस्पर्धा हुन्छ नै । तर, चुनावी प्रतिस्पर्धाका नाममा आपसी कटुता, आरोप–प्रत्यारोप, मुठभेडसम्मको अवस्थाले हाम्रो समाजलाई नराम्ररी गाँजिरहेको छ ।
निर्वाचनमा फरक राजनीतिक दलहरुबाट उम्मेदवार बनेका व्यक्तिहरुका आ–आफ्ना राजनीतिक आस्था र सिद्धान्त, घोषणापत्र, योजनालगायत कुरामा भिन्नता हुने भए पनि त्यो निर्वाचनसम्म मात्र सीमित हुनुपर्छ । एउटै पदका उम्मेदवारहरुबीच आरोप–प्रत्यारोप, वैचारिक मतभिन्नता, आपसी वैमनश्यता हुनु हुँदैन भन्ने धेरैजसो मतदाताको अपेक्षा रहने गरेको छ ।

निर्वाचनकै क्रममा प्रतिस्पर्धी दल तथा उम्मेदवारबीच सानातिना विषयमा विवाद भएर मुठभेडको अवस्था सृजना हुँदा अप्रिय घटना हुने गरेका थुप्रै उदाहरणका बीच हेटौंडा उपमहानगरपालिकाका केही वडाका उम्मेदवारहरुबीच उदाहरणीय सौहाद्र्धता देखिएको छ । एउटै पदमा उम्मेदवारी दिएपछि आपसी प्रतिस्पर्धा स्वभाविक भए पनि निर्वाचनको अवधिमै उनीहरुबीच आपसी सौहाद्र्धता र सद्भाव कायम हुनुले राजनीतिमा केही हदसम्म भए पनि सकारात्मक सन्देश प्रवाह गर्ने निश्चित छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षका मुख्य प्रतिस्पर्धी उम्मेदवारबीच यस्तै सौहाद्र्धताको नमुना देखिएको छ । नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बन्नुभएका सुशील घिमिरे र गठबन्धनमार्फत् नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार ह्यग्रीव आचार्यबीच निर्वाचनको प्रचारप्रसारदेखि मतदानको दिनसम्म पनि आपसी सद्भाव देखिएको छ । निर्वाचनका प्रतिद्वन्द्वी भए पनि दुबै उम्मेदवारले सामाजिक सञ्जालदेखि प्रत्यक्ष भेटघाटमा समेत एक–अर्कामा सम्मान व्यक्त गरेका छन् ।

शुक्रबार मतदान केन्द्रमा मतदानको समय समाप्त भएसँगै घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा आचार्यसँग हात मिलाएको र नमस्कार गरेको तस्वीर राख्दै लेख्नुभएको छ– ‘जोसँग अक्षर पढियो, उहाँसँगै ज्यान नजाने लडाइँ लडियो । विजयका लागि हार्दिक शुभकामना गुरूदेव । विद्वानसँग प्रतिस्पर्धी बन्ने अवसर प्राप्त भएकोमा गौरवान्वित महसुस् गरेको छु । नतिजा शिरोधार्य हुनेछ । माया गर्नेहरु सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्दछु ।’
यस्तै हेटौंडा–८ का अध्यक्षका उम्मेदवार नेकपा एमालेका बोलबहादुर कार्की र गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राम थापाबीच पनि सौहाद्र्धता प्रस्तुत भएको छ । मतदानको क्रममा दुवै उम्मेदवारले एकआपसमा सम्मान व्यक्त गर्दै मतदातासँग एकसाथ फोटो खिचाएका छन् । मतदाता, दलका नेता, कार्यकर्ताले पनि उम्मेदवारबीच सौहाद्र्धता अभिवृद्धिका लागि सहजीकरण गरिरहेका थिए । हेटौंडा–४ मा पनि गठबन्धनका उम्मेदवार हरि पौडेल र नेकपा एमालेका उम्मेदवार नवीन सिग्देलबीच पनि सौहाद्र्धता अभिवृद्धि गर्न कार्यकर्ता, समर्थकसँगै मतदाताले संयुक्त फोटो खिचाएका छन् ।
बहुदलीय व्यवस्थामा दलगत राजनीति स्वभाविक भए पनि स्थानीय तहको निर्वाचनमा दलीय राजनीतिक विचारधाराबाट मात्र उम्मेदवार र मतदाता प्रभावित हुनुहुँदैन । राजनीतिक दलका नेता, कार्यकर्तामा आपसी सद्भाव र सौहाद्र्धताको भावना जागृत भएमा निर्वाचित प्रतिनिधिलाई काम गर्न सहज हुनेछ ।










