मतगणना केन्द्रमा मतपेटिका ल्याउँदै सुरक्षाकर्मी । तस्वीरः रामकृष्ण घोरासाइनी ।

हेटौंडाः स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत मतदानको कार्य सकिएसँगै मतगणनाको चरणमा पुगेको छ । हेटौंडा उपमहानगरपालिकाको मतगणना आज बिहान ७ बजेबाट सुरु हुँदैछ । शुक्रबार अबेर राती सम्पन्न सर्वदलीय बैठकले शनिबार बिहान ७ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

मकवानपुरमा मतदानपछि जिल्लाका १० वटै पालिकामा मतपेटिका मतगणनास्थल ल्याएर मतगणनाको तयारी भइरहेको छ । हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडाको मतगणनाका लागि ४ वटा कोठा तयार पारिएको छ । १, २, १८, १९ नम्बर वडाको एकसाथ सुरु गर्ने योजना रहेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो । मकवानपुरका १० वटा पालिकामा करिब ७१ प्रतिशत मत खसेको उहाँले जानकारी दिनुभएको छ । यस्तै, हेटौंडा उपमहानगरपालिकामा करिब ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ ।