प्रिया पौडेल
स्थानीय तह सदस्य निर्वाचन आज देशभरी नै हुँदैछ । स्थानीय तहको सरकार चुनिनको लागि सबै नागरिकहरु लागेका छन् । देशमा एक किसिमको चुनावी रौनकता छाएको छ । ५ वर्षमा हुने स्थानीय तहको निर्वाचन हामी सबैको लागि ठूलो चार्ड हो । हेर्दा देखिने र छाम्दा भेटिने भनेकै स्थानीय तहको सरकार हो । चोक, चौतारा जहाँ पनि भेटिने आफ्ना क्षेत्र भित्रका सबैको हितमा काम गर्ने जनप्रतिनीधि छान्नको लागि आज हामी सबै मतदाताहरु लाईन लागेर मतदान गर्दैछौं ।
उम्मेदवारले आफ्नो एजेण्डा सुनाएर आफुप्रति सर्वसाधारणको ध्यान तान्ने दिन मंगलबारबाटै सकिएको छ । मंगलबार राती १२ बजेदेखि निर्वाचन आयोगले मौन अवधि सुरु गर्नुभन्दा अगाडी ठीक ११ बजेर ५९ मिनेटसम्म पनि सामाजिक संजाल र अनेक माध्यमबाट उम्मेदवारहरु र उम्मेदवारका शुभचिन्तकहरु आफ्ना लागि मत मागिरहेका थिए । अझैं पनि सांकेतिक रुपमा मत माग्नेहरु सामाजिक संजालमा देखिएका छन् । साम, दाम, दण्ड, भेद भनेको जस्तै सबै सस्त्र र अस्त्र प्रयोग गरेर अहिले उम्मेदवारहरु आराम गरिरहेका छन् । उम्मेदवारहरुलाई जसरी भएपनि जित्न पाए हुन्थ्यो भन्ने नै छ । हुन त हार्ने आसले त चुनावमा को नै उठ्छ र ? अनेक लोभ, प्रलोभनसहित अनेक एजेण्डा बनाएर (कतिपय असम्भव एजेण्डा) सर्वसाधारण लोभ्याउने गरी भोट माग्ने काम नेताको तर्फबाट सकिएको छ । केही मतदाता उम्मेदवारको पछि लागिरहेका छन् । उनीहरुको उम्मेदवार सही, सक्षम भएर होईन । उनीहरुको उम्मेदवारले जितेमा भोली आफ्नो काम सहजै हुन्छ । काम गर्न सहज वातावरण हुन्छ भनेर हो । यदि उसको उम्मेदवारले जिति हाल्यो भने उसैको राम्रो हुन्छ अरु सबै उस्तै । समाज विकास भए होस् नभए नहोस् तर, उसको शुभचिन्तकको राम्रै विकास भएको हुन्छ । यही धारणालाई वर्तमान समाजले चिर्नु छ । व्यक्ति ठूलो होइन, समाज ठूलो हो भन्ने बनाउनु छ ।
अब पालो आएको छ, मतदाताको । कस्ता व्यक्तिलाई मत दिने ? कस्लाई जिताउने ? आफ्नो वडा, आफ्नो ठाउँमा कस्ता नेता चुन्ने भन्ने अधिकार मतदातामा छ । चुनावको समयमा जनता जनार्धन हुन्छन् । अरु समयमा भनेको त तपाई हामीले भोग्दै आएको जीन्दगी जस्तै हो । मतदाताले उपमहानगरपालिकाको हकमा नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको हकमा अध्यक्ष र उपाध्यक्ष र वडाअध्यक्ष एवम् ४ जना वडा सदस्य गरी ७ जनालाई आफ्नो मत प्रदान गर्न सक्छन् । आसन्न स्थानीय तहको निर्वाचनको प्रतिष्पर्धामा उत्रेका उम्मेदवारहरु मध्य सबैभन्दा धेरै मतसहित पहिलो हुनेलाई निर्वाचित भएको घोषणा गरिन्छ । पहिलो हुनेले आगामी ५ वर्ष सम्बन्धित स्थानीय तहको नेतृत्व गर्ने अधिकार प्राप्त गर्छ । आज मतदान गरेपछि उम्मेदवारको भूमिका पनि सकिन्छ । जित्नेले जनप्रतिनीधिको भूमिका पाउँछन् भने हार्नेहरु आम नागरिकको रुपमा आफ्नो भूमिका निर्वाह गर्छन् ।
बैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका ८७ लाख ४१ हजार ५ सय ३० महिला र ८९ लाख ९२ हजार १० जना पुरुष र १ सय ८३ जना अन्य गरी देशभरीमा एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जनाले मतदान गर्दैछन् । यस्तै, मकवानपुर जिल्लामा २ लाख ९ ४ हजार ९ सय १९ जना मतदाताहरु रहेका छन् । जसमध्ये १ लाख ४९ जना पुरुष, १ लाख ४४ हजार ९ सय ५९ जना महिला तथा ६ जना तेस्रो लिङ्गी रहेका छन् । मकवानपुरको सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगर पालिका रहेका छन् । हेटौंडामा मात्र १ लाख ४ हजार ४ सय ५० जना मतदाता रहेका छन् । निर्वाचनलाई स्वच्छ, व्यवस्थित रुपमा सम्पन्न गर्न मकवानपुरमा ३ हजार २ सय सुरक्षाकर्मी खटिँदैछन् । यस्तै, निर्वाचन सुरक्षाका लागि १ हजार ४ सय ७३ जना म्यादी प्रहरी, नेपाली सेना ५ सय जना, सशस्त्र प्रहरी ४ सय जना, नेपाल प्रहरी ९ सय जना खटाइँदै छ । निर्वाचन आयोगले निर्वाचनको लागि आवश्यक सम्पूर्ण तयारी गरिसकेको छ ।
चुनावबाट कस्ता उम्मेदवारलाई विजयी गराउने भन्ने कुरामा गम्भिर भएर मतदान गर्नु जरुरी छ । देश समाजको विकास भएन भनेर हामीले अघिल्लो पुस्तालाई गाली गरिरहँदा भोली हाम्रा सन्ततीले हामीलाई गाली गर्ने अवसर हामीले दिनु हुँदैन । आजको हाम्रो एक मत भोलीको ५ वर्षको उपलब्धीमूलक स्थानीय सरकार बन्नमा सहयोगी हुनु पर्छ । विजयी हुनेले पनि मतदाताको मत खेर गएको महशुस हुन दिनु हुँदैन । संघीयता पछिको पहिलो स्थानीय तहको सरकारको स्थानीय शासन प्रणाली नौलो थियो । सुरुवाती थियो, त्यसैले कतिले चाहेको जस्तो काम गर्न सकेनन् । अघिल्लो स्थानीय सरकारप्रति कतिपय सन्तुष्ट छौं, भने कतिपय असन्तुष्ट पनि छौं । हामीलाई चाहिएको स्थानीय सरकार भनेको सेवा भावको काम गर्ने हो । तर, यस्तो सेवा भाव नेताहरुले भोट माग्ने बेला मात्र देखिने गरेको छ । सानो कामदेखि ठूलो काम सबैलाई सोर्स र फोर्स नलगाई कामै नहुने हाम्रो देशमा सबैले काम गर्ने इमान्दार नेता चुन्न जरुरी छ । मतदान गर्नु हरेक नागरिकको कर्तव्य हो । मतदाता कसैको डर, धाक, धम्कीमा नपरी आफुले चाहेको व्यक्तिलाई मतदान गर्न पाईयोस् भनेर नै गोप्य मतदानको व्यवस्था गरिएको हो । सबैले आफ्नो कर्तव्यको पालना गरी गोप्य मतदान गरौं । हरेक मतदाता आफ्नो निर्णयको मालिक हो । त्यसैले आफ्नो निर्णय आफैं लिनुस् । मतदाताको अत्याधिक सहभागितामा स्वच्छ, निष्पक्ष र धाधलीरहित निर्वाचन सम्पन्न होस्, सबैलाई स्थानीय तह निर्वाचनको शुभकामना ।











