हेटौंडाः शुक्रबार देशभरि सबै स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको लागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ । निर्वाचनमा मतदान केन्द्रमा निर्वाचन आयोगले तोकेको संघसंस्थाहरुले मात्र अनुगमन गर्न पाउने भएका छन् । निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित ढङ्गबाट सम्पन्न गराउन संघसंस्थाहरुले मात्र अनुगमन गर्न पाउने भएका हुन् ।

मतदान केन्द्रमा प्रत्येक उम्मेदवारले आ–आफ्ना प्रतिनिधि राख्न पाइने हेटौंडा उपमहानगरपालिका मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले जानकारी दिनुभयो । मतदान केन्द्रमा निर्वाचन अनुगमन टोली, एनजिओ र आयोगले खटाइएको निर्वाचन समितिका टोली खट्न पाइने उहाँले बताउनुभयो । अन्य कुनै दलका भातृ संघ संगठनका पदाधिकारीहरुलाई भने आयोग अनुमति नदिएसम्म नराखिने श्रेष्ठले बताउनुभयो । मतदानमा सहभागी हुन आजबाट मतदाता परिचय पत्र वितरण गरिएको छ । सबै स्थानीय तहको मतदान स्थल र मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गर्न सुरु गरिएको हो । भोलि बिहिबार पनि मतदाता परिचय पत्र वितरण गर्ने कार्यक्रम रहेको छ । आज बुधबार मतदाता शिक्षा पनि सञ्चालन गरिएको छ ।

गएराति १२ बजेदेखि निर्वाचन मौन अवधि सुरु भएको छ । मौन अवधिभर चुनावी प्रसारप्रसारका लागि कुनै खाले क्रियाकलाप नगरी निर्वाचन आचारसंहितालाई पालना गर्न श्रेष्ठले आग्रह गर्नुभयो । यदि निर्वाचन आचारसंहिताको अवज्ञा गरेमा कानुन अनुसार कारबाही गरिने श्रेष्ठले बताउनुभयो । यस पटक भने अघिल्ला निर्वाचनमा भन्दा आचारसंहिताको पालना भएको पाइएको श्रेष्ठले बताउनुभयो ।