समाजका सबै पक्षका गुनासा छन् । जनप्रतिनिधिले हेर्नुपर्ने क्षेत्र धेरै छन्, तर समान दृष्टिकोण नपुगेको हुनसक्छ । बेवास्ता गरेको हो वा कम महत्व दिएको वा चाहना हुँदै गर्दा पनि परिस्थितिले त्यहाँ नपुर्‍याएको हो भन्ने छलफलको विषय हो । सबैले आफ्नो क्षेत्रलाई विशेष प्राथमिकता देओस् भन्ने चाहना राख्ने गरिएको छ । राज्यका माथिल्ला निकायबाट दृष्टि नपुगेको हुनसक्छ । तर स्थानीय तहले समाजका सबै तह र तप्कालाई समानरुपमा महत्व दिन आवश्यक छ । सबैको विकास गर्ने, लगानी गर्ने वा कार्यक्रम गर्ने गराउने र त्यस क्षेत्रका विकास र विस्तारको पहिलो जिम्मेवारी स्थानीय सरकारकै हो । स्थानीय तहबाट पनि पछाडि पारिएको क्षेत्रमध्ये साहित्य पनि हो ।

स्थानीय सरकारहरुले विकासको मापदण्ड भौतिक पूर्वाधारलाई मात्र लिने गरेको छ । समाजशास्त्रीय दृष्टिकोणबाट मूल्यांकन गर्ने र आवश्यकताको पहिचान गर्नु पर्दछ । तर प्रतिनिधिहरुले बाटो, पुलपुलेसा, भवनलगायत भौतिक संरचना निर्माणलाई नै प्राथमिकता दिँदा समाजका अन्य पक्षहरु ओझेलमा परेका छन् । जनप्रतिनिधिले निकै कम महत्व दिएको क्षेत्रमध्ये साहित्य पनि पर्दछ । कुनै पनि दल वा उम्मेदवारको घोषणापत्रमा साहित्यलाई महत्व दिइएको छैन । कतिपयले साहित्य र कला शब्द नै प्रयोग गरेका हुँदैनन् । जसले घोषणापत्रमा उल्लेख गरेका हुन्छन्, उनीहरुले भोटका लागि मात्र हो । निर्वाचित भए पनि साहित्यको श्रीवृद्धिमा आजसम्म राज्यका तर्फबाट कुनै योजना ल्याएका छैनन् ।

नेपालमा जति पनि साहित्यिक क्षेत्रको विकास र विस्तार भएको छ, राज्यको अग्रसरतामा छैन । विद्यालय भवन, बाटो, पुल वा अन्य भौतिक संरचना निर्माणमा प्रतिनिधिहरु आफैंले योजना बनाउने र बजेटको व्यवस्था गरेका हुन्छन् । तर साहित्यमा त्यस्तो अवस्था छैन । साहित्यकर्मीहरुले अनेक पटक अनुनय गरेपछि मात्र केही कार्यक्रम दिने गरेको पाइन्छ । मागेर दिएको भन्दा सम्बन्धित पक्षबाटै लिएको अग्रसरता प्रभावकारी हुन्छ । यही विषयमा मकवानपुरका साहित्यकारहरु यतिबेला बहस गरिरहेका छन् । विगतमा के भयो र अहिले के हुँदैछ तथा भोलि प्रतिनिधिले साहित्यका क्षेत्रमा के गर्नु पर्दछ जस्ता पक्षबाट छलफल गरेका छन् । जनप्रतिनिधिहरुले भाषा, साहित्यको पाटोलाई बुझ्नै नसकेको, बुझ्नै नचाहेको उल्लेख गर्दै आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकाहरुले पनि भाषा र साहित्यको क्षेत्रका बारेमा बुझ्न नखोजेको गुनासो साहित्यकारहरुको छ ।

मकवानपुरका जनप्रतिनिधिहरुले हिजोका दिनमा साहित्यिक क्षेत्रमा ठोस काम गर्ने तत्परता देखाएको पाइँदैन । व्यक्तिगत सम्पर्कमा आधारमा कार्यक्रम भए पनि स्थानीय तहकै तर्फबाट साहित्यको विकास र विस्तारमा काम भएको साहित्यकारहरुले नै देखेका छैनन् । भाषा, साहित्यको विषयमा के कस्ता काम गर्नुपर्छ भनेर जनप्रतिनिधिले सम्बन्धित व्यक्तिहरुसँग छलफल गर्ने र आवश्यक योजना बनाएर काम गर्नुपर्ने थियो । तर व्यक्तिगत सम्बन्ध, राजनीतिक या अन्य कुनै आधारमा गरिने सीमित कार्यले भाषा, साहित्यको विकासमा योगदान सम्भव हुँदैन । यतिबेला जनप्रतिनिधिका लागि उम्मेदवारहरु घरदैलोमा पुगेका छन् । उनीहरुलाई समयमै सचेत बनाउने काम साहित्यकारको पनि हो । आफ्नो क्षेत्रको विकासका योजना समावेश गर्न र भोलि काम गर्ने प्रतिवद्धता गराउन सक्नुपर्दछ । गुनासामात्र हैन आवश्यक सक्रियता पनि आवश्यक छ ।