सांकेतिक चित्र ।

हेटौंडाः स्थानीय तह निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिकामा जम्मा १ सय ५४ जना महिला जनप्रतिनीधिको लागि उम्मेदवार बनेका छन् । यस्तै, निर्वाचनको लागि ६५ जना दलित महिला उम्मेदवार बनेका छन् । स्वतन्त्रसँगै विभिन्न पार्टीबाट हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडामा महिलाहरुको सहभागिता रहेको देखिन्छ ।

स्थानीय निर्वाचन ऐन २०७३ को निर्वाचन प्रणालीमा गाउँपालिका वा वडा समितिमा दलित महिला सदस्य र महिला सदस्यको व्यवस्था गरिएकोले पनि महिला उम्मेदवारको संख्यामा केही वृद्धि भएको देखिन्छ । हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि ४ जना महिलाहरुको उम्मेदवारी रहेको छ । नेकपा एकीकृत समाजवादीको तर्फबाट मिना कुमारी लामा, मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौला, जनता समाजवादी पार्टीबाट दिपा लामा र स्वतन्त्रबाट सुरक्षा रिजालको उम्मेदवारी रहेको छ । नेकपा एकीकृत समाजवादीको तर्फबाट मेयर पदका लागि उम्मेदवारी दिनुभएको मिना कुमारी लामा बहालवाला उपमेयर समेत हुनुहुन्थ्यो । यस्तै, उपमेयरमा पनि ४ जना महिलाहरुले उम्मेदवारी दिएका छन् । नेकपा एमालेबाट सुमित्रा काफ्ले, लोकतान्त्रिक समाजवादी पार्टी नानी मैया श्रेष्ठ, राष्ट्रिय प्रजातान्त्रिक पार्टी ईन्दिरा न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी समाजवादीको तर्फबाट मख कुमारी तिमल्सिनाले उम्मेदवारी दिनुभएको हो ।

यस्तै, वडा नम्बर ४ मा महिला सदस्यका लागि ४ जनाको उम्मेदवारी रहेको छ । दलित महिला सदस्यमा ३ जनाको उम्मेदवारी छ । त्यसैगरी, वडा नम्बर ५ बाट महिला सदस्य पदका लागि ३ जना र दलित महिला सदस्यमा २ जनाको उम्मेदवारी रहेको छ । नेकपा एमालेबाट दलित महिला सदस्यको लागि उम्मेदवारी दिनुभएको भगवति विक वहालवाला वडा सदस्य हुनुहुन्थ्यो । वडा नम्बर ६ मा महिला सदस्यको लागि ४ जना र दलित महिला सदस्यमा ४ जनाको उम्मेदवारी छ । यता वडा नम्बर ७ मा महिला सदस्यमा ३ जना र दलित महिला सदस्यमा ३ जनाको उम्मेदवारी छ । नेकपा एमालेबाट उम्मेदवार सपना विक हालको वडा सदस्य हुनुहुन्थ्यो ।

वडा नम्बर १२ मा ५ जना महिला सदस्यमा र ५ जना दलित महिला सदस्यमा उम्मेदवार छन् । वडा नम्बर १३ मा महिला सदस्यमा ४ जना र दलित महिला सदस्यमा ४ जनाको उम्मेदवारी छ । नेकपा एमालेबाट दलित महिला सदस्यमा उम्मेदवार हुनु भएको विष्णु परियार वहालबवाला वडा सदस्य हुनुहुन्थ्यो । यस्तै, वडा नम्बर १४ को अध्यक्षमा राप्रपाबाट जानुका दुवाडीले उम्मेदवारी दिनुभएको छ भने महिला सदस्यमा ३ जना र दलित महिला सदस्यमा ३ जनाको उम्मेदवारी छ । वडा नम्बर १५ मा ४ जना महिला सदस्य र दलित महिला सदस्यमा ३ जना उम्मेदवार भएका छन् । नेकपा एमालेबाट महिला सदस्यको उम्मेदवार दिने पातलि माया गोङ्वा र दलित महिला सदस्य उम्मेदवार मिनु विक वहालवाला वडा सदस्य हुनुहुन्थ्यो ।

यता वडा नम्बर १६ मा महिला सदस्यमा ३ जना र दलित महिला सदस्यमा ३ जना उम्मेदवार भएका छन् । वडा नम्बर १७ महिला सदस्यमा ६ जना र दलित महिला सदस्यमा ६ जना उम्मेदवार रहेका छन् । दलित महिला सदस्यमा नेकपा एमालेबाट उम्मेदवार ईश्वरी सुनार वहालवाला वडा सदस्य हुनुहुन्छ । वडा नम्बर १८ मा महिला सदस्यमा ३ जना र दलित महिला सदस्यमा ५ जना उम्मेदवार छन् । त्यसैगरी, वडा नम्बर १९ मा महिला सदस्यमा ४ जना र दलित महिला सदस्यमा ४ जना उम्मेदवार रहेका छन् । नेकपा एमालेबाट महिला सदस्य कल्पना कुईकेल र दलित महिला सदस्य पुजा मंग्राति वहालवाला वडा सदस्य हुन् । वडा नम्बर १९ मा महिला सदस्यमा ४ जना र दलित महिला सदस्यमा ४ जना उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसबाट सीता सापकोटा खुला सदस्यमा उम्मेदवार हुनुहुन्छ ।

सरकारले महिलाको प्रतिनिधित्व बढाउन स्थानीय तहको सदस्यमा एक जना महिला सदस्य, एक जना दलित महिला सदस्यको व्यवस्था गरेसँगै उम्मेदवारीमा महिलाको संख्या बढेको हो । नेपाल एकात्मक शासन व्यवस्थाबाट संघीय शासन व्यवस्थामा रुपान्तरण भएको सन्दर्भमा सबै तहको संरचनामा महिलाको हक, अधिकार संस्थागत गरी नीति निर्माण र निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने महत्वपूर्ण अवसर हो ।