हेटौंडाः प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । पुराण ग्रन्थहरू अनुसार यस दिनमा जे शुभ कार्य गरिन्छ त्यसको अक्षय फल पाइन्छ भन्ने लोक विश्वास छ । मकवानपुरमा पनि जौको सातु र सर्वत दान एवम् सेवन गर्ने प्रचलन रही आएको छ ।

शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।