हेटौंडाः लामो समय सेवा गरेका हेटौंडा उपमहानगरपालिका क्षेत्रका विभिन्न विद्यालयका १४ जना शिक्षकलाई शुक्रबार विदाई गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले शिक्षक स्वर्णिम अवकाश योजनाअन्तर्गत् सुविधा लिन चाहने शिक्षकहरुमध्ये १४ जना शिक्षकलाई प्रोत्साहन रकमसहित विदाई गरेको हो ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले अवकाश योजनामा सरिक हुनुभएका शिक्षकहरुलाई एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको प्रोत्साहन रकमको चेक हस्तान्तरण गर्नुभयो । हेटौंडा उपमहानगरपालिकाले शिक्षक दरबन्दी मिलान तथा उमेर हदका कारण अवकाशको समय नजिक रहेका शिक्षकहरुलाई लक्षित गर्दै नगद प्रोत्साहन रकम दिने गरी स्वर्णिम अवकास योजना ल्याएको थियो । महतले अवकाश योजनामा सहभागी हुने शिक्षकहरुलाई माला, प्रमाणपत्र र प्रोत्साहन रकमको चेक हस्तान्तरण गर्नुभएको हो । स्वर्णिम अवकाश प्राप्त नमराज पौडेल, रामबहादुर थापा, पुरुषोेत्तम ढकाल, प्रभात बिडारी, रामकृष्ण रोक्कालाई विदाई गरिएको छ । यसैगरी धुव्रबहादुर बिष्ट, सुन्दर श्रेष्ठ, पिताम्बर बास्तोला, बरुणकुमार खतिवडा, शुभद्राकुमारी तिमल्सिना, गायत्री आचार्यलगायतलाई सम्मानसहित विदाई गरिएकोे छ ।
२९ वर्षदेखि ३५ वर्षसम्म सेवा गरेका शिक्षकलाई स्वर्णिम अवकाश योजनाअन्तर्गत् विदाई गरिएको हो । कार्यक्रममा शिक्षक पिताम्बर बास्तोलाले निवृत्त हुन केही वर्ष बाँकी रहेकोे अवस्थामा सामाजिक सेवामा संग्लन हुने उद्देश्यले स्वेच्छिक अवकाश लिएको बताउनुभयो । लामो अवधि सेवा गरेका शिक्षकलाई सम्मानसहित विदाई गरेर नयाँ पुस्ताका शिक्षकलाई स्वागत गर्ने योजनाअन्तर्गत् स्वर्णिम अवकाश योजना ल्याइएको हो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल, राष्ट्रिय शिक्षक महासंघ हेटौंडा उपमहानगर समितिका अध्यक्ष दीपक अधिकारीलगायतको उपस्थिति रहेको थियो ।









