मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा सोमबार राती ९ बजेको समयमा उम्मेदवारी दर्ता गर्न पुगेकाको भीड ।

हेटौंडाः स्थानीय तह सदस्यको निर्वाचन नजिकिँदैछ । चुनावका लागि जम्मा १३ दिनमात्र बाँकी रहँदा मतदाता सक्षम उम्मेदवारको खोजीमा छन् । समाज बुझ्ने र सामाजिक क्षेत्रमा काम गर्नसक्ने उम्मेदवार आजको आवश्यकता हो ।

हेटौंडा उपमहानगरपालिकाका महिला तथा बालबालिका विकास महाशाखा प्रमुख तथा मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक जगन्नाथ सापकोटाले विकास बुझेको व्यक्ति उम्मेदवार हुनुपर्नेमा जोड दिनुभयो । विकासका विभिन्न आयामहरु हुने भन्दै उहाँले त्यस्ता आयामहरु नजिकबाट बुझेको र जनतामा भिजेको व्यक्ति उम्मेदवार हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “उम्मेदवार राजनीतिक पूर्वाग्रह नराख्ने, सर्वसाधारणको हित चिताउने, विकास निर्माणलाई प्रमुख प्राथमिकतामा राख्ने भ्रष्टाचाररहित विचार बोकेका व्यक्ति हुनुपर्छ ।” विकास बुझेको उम्मेदवार आएमा समग्र राष्ट्रले लिएको समृद्ध समाज निर्माण गर्न सहयोग पुग्ने उहाँको भनाई छ ।

लामो समय शिक्षण पेशामा रहनुभएका ईश्वरीप्रसाद पोखरेलले समाजमा महिला, जनजाति, दलित, मधेशीलगायत विविध वर्ग रहेको भन्दै उनीहरुको अस्मितालाई सम्मान गर्ने उम्मेदवार आवश्यक रहेको बताउनुभयो । उहाँले थप्नुभयो– “समाजमा अझै पनि महिला, जनजाति, दलित, मधेशी समुदायको अवस्था दयनीय छ । उनीहरुको आवाज बाहिर आउन सकेको छैन । उनीहरुलाई सम्मान गर्ने उम्मेदवार हुनु जरुरी छ ।” उहाँका अनुसार सुशासनप्रति प्रतिबद्ध रहेको उम्मेदवार आउनुपर्छ । राष्ट्रमा सुशासन कायम हुन नसकेको भन्दै उहाँले भ्रष्टाचार र अनियमितताको घटना दैनिक बढेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

“हाम्रो देशमा जसरी हुन्छ विजयी हुने प्रवृत्ति हावी भएको देखिन्छ । त्यस्तो प्रकारको उम्मेदवारी नआओस्”, पोखरेलले भन्नुभयो । सहि मात्रामा विकास के हो ?, केलाई विकास भन्ने ? लगायत विकासको सही परिभाषा बुझेको व्यक्ति उम्मेदवार हुनुपर्ने उहा“को धारणा रहेको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुने व्यक्ति समाजमा राम्रोस“ग भिजेको हुनुपर्छ भन्दै उहाँले समाज बुझेको व्यक्तिले मात्र परिवर्तन ल्याउनसक्ने बताउनुभयो ।

हटिया निवासी मासु व्यवसायी सन्तोष मगर युवा व्यवसायीको क्षेत्रमा काम गर्ने क्ष्ँमता भएको उम्मेदवार आजको आवश्यकता रहेको बताउनुहुन्छ । युवा क्षेत्रको लागि काम गर्ने, उद्यमशीलतामा काम गर्ने उम्मेदवार आवश्यक छ । उहाँले भन्नुभयो, “चुनावको लागि मात्र राजनीति चाहिन्छ । चुनाव सकिएपछि सम्पूर्णको साझा जनप्रतिनिधिको रुपमा काम गर्ने जनप्रतिनिधि आवश्यक छ । यहाँ त राजनीतिअनुसार आफ्ना र पराई भनेर छुट्याउने गरिएको छ ।” चुनाव जितेपछि राजा भएर होइन, सामाजिक सेवा गर्ने समाजसेवी भएर काम गर्ने उम्मेदवार आवश्यक रहेको उहाँको भनाई छ । व्यापारीलाई कर पनि लिने र मूल्यवृद्धि पनि गर्ने सरकारको नीतिले व्यापारीहरु बिस्तारै पलायन हुने अवस्थामा रहेको उहाँले औंल्याउनुभयो ।

मयूरी चालक रामबहादुर स्याङ्तान यो वर्ष चुनावमा भोट नहाल्ने बताउनुहुन्छ । हेटौंडा–५ निवासी स्याङ्तान स्थानीय तहले मजदुरको पक्षमा केही काम नगर्ने गुनासो गर्नुहुन्छ । निर्वाचित भएर आउने नाम फरक भएपनि नेताको काम फरक नहुने उहाँले गुनासो गर्नुभयो । ६० को दशकमा हिँडिरहनुभएको उहाँलाई राजनीतिले जनताको समस्या बुझ्ने गरेको जस्तो लाग्दैन । उहाँले भन्नुभयो, “राजनीतिको नाममा भूमिहीनलाई लालपूर्जा दिन्छु भन्दै झुक्याइयो । खोइ त लालपूर्जा ? हामी जस्ता सोझा जनतालाई ठगीखाने भाँडो भएको छ, राजनीति ।” राज्यले मतदान गर्नुपर्ने अधिकार दियो तर, सही उम्मेदवार नदिएको उहाँले गुनासो गर्नुभयो । उहाँका अनुसार सक्षम युवाले टिकट पाउँदैनन्, पद र पावरको भरमा टिकट बिक्री हुन्छ । “मतदान गर्न त उम्मेदवार पनि सही चाहिन्छ होइन र ?” भन्दै उहाँले प्रतिप्रश्न गर्नुभयो ।

मकवानपुर बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययनरत निलिमा भेटवालको आफ्नो पार्टी भन्दा पनि सक्षम नेतृत्वले चुनाव जितोस् भन्ने चाहना छ । उहाँले भन्नुभयो, “पार्टीगत विचार सबैको हुन्छ । तर, स्थानीय चुनावमा पार्टीको विचारभन्दा पनि व्यक्तिको काम महत्वपूर्ण हुन्छ ।” टोल–टोलमा चुनावकेन्द्रित चहलपहल पनि बढ्दै गएको भन्दै उहाँले निर्वाचित पदाधिकारीले विद्यालय र विद्यार्थीको क्षेत्रमा काम गर्नसक्ने हुनुपर्ने धारणा राख्नुभयो । शिक्षा क्षेत्रमा गरिएको लगानीले भविष्यमा प्रतिफल दिने बताउँदै उहाँले समाज निर्माणमा शिक्षा क्षेत्रमा लगानी आवश्यक रहेको बताउनुभयो । स्थानीय तहको जनप्रतिनिधिले आफ्नो क्ष्ँेत्रभित्र पर्ने बालबालिकाको सिकाई, अतिरिक्त क्रियाकलाप, अध्ययनपश्चात् स्वरोजगारको व्यवस्थालगायत क्षेत्रमा ध्यान दिनुपर्ने उहाँले औंल्याउनुभयो ।

हेटौंडा–९ निवासी सुरक्षा खतिवडाले विगतको निर्वाचनमा पनि घोषणापत्रमार्फत् मत मागिएको थियो तर, अहिले भने जनताले परिणाममुखी नतिजा खोजिरहेको बताउनुभयो । आगामी निर्वाचनमा घोषणापत्रको आधारमा मतदान नगर्ने उहाँको विचार छ । उहाँका अनुसार जनताले खोज्ने भनेको स्थानीय तहमा देखिएका समस्याहरुको समाधान नै हो । पार्टीभन्दा पनि स्थानीय निकायमा सक्षम व्यक्ति आउनुपर्ने उहाँको भनाई छ ।