केपी ओलीको हातबाट टिका लगाएर नेकपा एमाले प्रवेश गर्नुहुँदै श्रीधर पोखरेल ।

हेटौंडाः नेकपा एकीकृत समाजवादी छाडेको भोलिपल्टै श्रीधर पोखरेल नेकपा एमाले प्रवेश गर्नुभएको छ । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर पार्टी प्रवेश गर्नुभएको हो । नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला अध्यक्ष रहनुभएका पोखरेलले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरेर पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो ।

नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी अध्यक्ष भएर नेतृत्व गरिरहनुभएका पोखरेलले पार्टीमा व्यक्तिवाद हावी हुँदै गएको, सीमित व्यक्तिको स्वार्थ पूरा गर्ने प्राइभेट कम्पनि जस्तै भएको भन्दै पार्टी छाडेको घोषणा गर्नुभएको थियो । पोखरेलको दावी विपरित आमरुपमा भने हेटौंडा उपमहानगरपालिकाको मेयर पदको उम्मेदवार हुन नपाएपछि पार्टी छाड्ने स्थितिमा पुगेको बुझाइ छ । पार्टी परित्याग गरेको घोषणा गर्नुभएका पोखरेलले केही समय स्वतन्त्र वामपन्थीको रुपमा रहेन बताउनुभएको थियो ।

बिहीबार नै काठमाडौं पुगेर पोखरेलसँगै नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला कमिटी सचिवालय सदस्यहरु उत्तम शर्मा न्यौपाने, देवेन्द्रप्रसाद कोइराला पनि नेकपा एमाले प्रवेश गर्नुभएको छ । केहीले आइतबार केपी ओली हेटौंडा आउँदा पोखरेल पार्टी प्रवेश गर्ने अनुमानलाई गलत सावित गर्दै पोखरेल आफैं काठमाडौं पुगेर पार्टी प्रवेश गर्नुभएको छ । यता नेकपा एमाले मकवानपुर जिल्ला कमिटीका अध्यक्ष एकालाल श्रेष्ठले भने पोखरेल पार्टी प्रवेश गरेको विषय जानकारी नभएको बताउनुभयो । बिहीबार साँझ समृद्ध समाजसँग कुरा गर्दै श्रेष्ठले भन्नुभयो, ‘खै श्रीधरजी प्रवेश गर्नुभएको या गर्ने भन्ने विषय जानकारी भएन ।’