बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामा बुझाउनुहुँदै केशब स्थापित ।

हेटौंडाः काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिन बागमती प्रदेशसभा सदस्य केशब स्थापितले राजीनामा दिनुभएको छ । नेकपा (एमाले) को सचिवालय बैठकले शनिबार स्थापितलाई काठमाडौंको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

प्रदेशका पुर्वमन्त्री समेत रहनुभएका स्थापितले आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई हेटौंडा कार्यालयमा पुगेर राजीनामा दिनुभएको हो । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने तय भएकोले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको उहाँले बताउनुभयो ।

निर्वाचन आयोगले बनाएको आचारसंहितामा जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार हुनुअघि राजीनामा दिनुपर्ने भनिएको छ । काठमाडौं क्षेत्र नम्बर ६ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित स्थापित ४ बर्ष ३ महिना बागमती प्रदेशसभा सदस्यको रुपमा रहनुभयो । राजीनामा दिएपछि उहाँले मेयर भएपछि ऐतिहासिक त्रिचन्द्र क्याम्पसको स्तरोन्तीबाट आफ्नो काम थालनी गर्ने बताउनुभयो ।

अब बागमतीमा एमालेका ४१ जनामात्र प्रदेश सभा सदस्य रहने भएका छन् । प्रदेशमा एमालेका ४३ जना प्रदेश सभा सदस्य रहेकोमा भरतपुरमा मेयरमा उम्मेद्वारी दिन प्रदेश सभा सदस्य विजय सुवेदीले यसअघि नै राजीनामा दिइसकेका छन् ।