नेपाली राजनीतिमा उल्लेख्य नाममध्ये वीपी, गणेशमान, पुष्पलाल, मनमोहन, मदन भण्डारी हुन् । उनीहरुले प्रतिपादन गरेका सिद्धान्त, योगदान, त्याग र आदर्शमा आजका दलहरु राजनीति गरिरहेका छन् । नेपालमा जतिपनि परिवर्तन भए यिनै नेताहरुको प्रेरणाबाट भएको हो । फरक सैद्धान्तिक मान्यता बोकेका भए पनि नेपाली राजनीतिक इतिहासमा उनीहरु सधैं अमर रहनेछन् । यो वास्तविकतालाई सबै दलका नेता र कार्यकर्ताले आत्मसाथ गर्न जरुरी छ । राजनीतिको वास्तविक धरातलमा उभिएर हेर्दा कुनै पनि दलका कार्यकर्ताहरुले नेताहरुप्रति पूर्वाग्रह राख्नुपर्ने देखिँदैन । योगदानको कदर गरे पनि आरोप प्रत्यारोप गर्नु नेपाली राजनीतिको विशेषता नै बनेको छ । फरक सिद्धान्त लिए पनि योगदानलाई सम्मान गर्न सक्नु पर्दछ ।

राजनीतिका आदर्श व्यक्तिहरुलाई समाजमा सम्मानित बनाउने जिम्मेवारी राजनीतिक दल, नेता र कार्यकर्ताको हो । तर यिनै आदर्शमध्येका मदन भण्डारी तथा जीवराज आश्रितको शालिकलाई निशाना बनाइएको छ । हेटौंडा–९ मा निर्माणाधीन दिव्य बालउद्यान परिसरमा राखिएको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ । घटना नियोजित रुपमा राजनीतिक पूर्वाग्रह राखेर भएको देखिन्छ । स्थानीय तहको निर्वाचनका मौकामा यस्तो घटना गराउनुको उद्देश्य पनि राजनीतिक नै हुनसक्छ । पार्कमा अन्य कुनै संरचनालाई क्षति नगरी मदन–आश्रितको शालिकमात्र तोडिनुले राजनीतिक पूर्वाग्रह नै हो भन्ने आधार प्रष्ट पार्दछ । घटनाभित्र राजनीतिक उद्देश्य देखिए तापनि षडयन्त्रको गन्ध आउँछ । दलहरुबीच मनमुटाव श्रृजना गराउने र निर्वाचनलाई अर्को मोड दिने उद्देश्यबाट घटना गराइएको त हैन ?

दलहरुबीच निर्वाचनका समयमा आरोप प्रत्यारोप बढी नै हुने गरेको छ । निर्वाचन भनेको आफ्नो प्रचार गर्ने हो । अरुको आलोचना गरेर आफ्नो प्रचार हुन सक्दैन । कमजोरी देखाउने र स्वस्थ आलोचना गर्नु पर्दछ । अघिपछि एउटै टेबुलमा बसेर अंकमाल गर्नेहरु पनि निर्वाचनको क्रममा तुच्छ आरोप प्रत्यारोप गर्ने, अनेक घटना घटाउने, हिंसात्मक क्रियाका लागि प्रेरित गर्ने सम्मका काम हुँदै आएका छन् । यसले निर्वाचनलाई अस्वस्थ बनाउँदै लगेको छ । दलहरुबीच सहकार्य र उच्चस्तरको समझदारी विकास गर्न आवश्यक हुन्छ । यस अवस्थामा दलहरुबीच तिक्तता श्रृजना गराउने षडयन्त्र हुन सक्छ । नेतृत्व चनाखो बन्नु पर्दछ ।

राजनीतिक व्यक्तिहरुका शालिक किन निशाना बनाइयो भन्ने पक्षबाट अनुसन्धान हुनु पर्दछ । राजनीतिक दल र त्यसका कार्यकर्ताहरुले यस्तो हर्कत पक्कै नगर्नु पर्ने हो । दलहरुबीच झगडा लगाउने उद्देश्यले तेस्रो शक्तिबाट यस्तो काम गराएको त हैन ? पार्कमा रहेको अरु पक्ष केही नहुनु र शालिकमाथि मात्रै निशाना साँध्नुले षडयन्त्र नहोला भन्न सकिँदैन । घटना जसले जुन उद्देश्यबाट गरेको भएपनि आपराधिक मनोवृत्ति हो । यस्ता षडयन्त्रबाट दलहरु बच्न सक्नु पर्दछ । घटनाको यथार्थ पत्ता लगाउनेतर्फ ध्यान दिन आवश्यक छ । दलीय आस्था र विश्वासका आधारमा आरोप प्रत्यारोप लगाउने हो भने जसले घटना गराएको हो उसको उद्देश्य पूरा हुनेछ । जसले जुन उद्देश्यबाट घटना गरेको भए पनि अपराधीलाई कारवाही गरिनु पर्दछ । यसका लागि बिना पूर्वाग्रह र निष्पक्ष ढंगबाट अनुसन्धान र छानविन गरी कानुनी दायरामा ल्याउनु सबैको जिम्मेवारी हो ।