बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई प्रदेश सभा सदस्यबाट राजीनामा दिनुहुँदै विजय सुवेदी ।

हेटौंडाः भरतपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिन विजय सुवेदीले बागमती प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुभएको छ । सुवेदीलाई नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार सिफारिस गरेको छ ।

सुवेदीले बिहीबार बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामापत्र बुझाउनुभएको छ । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उठ्न लागेकोले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको सुवेदीले बताउनुभएको छ ।

निर्वाचन आचारसंहितामा जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार हुनुअघि राजीनामा दिनुपर्ने व्यवस्था गरेपछि सुवेदीले प्रदेशसभा सदस्यबाट राजीनामा दिनुभएको हो । चितवनको क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित सुवेदी ४ वर्ष ३ महिना बागमती प्रदेशसभा सदस्यको रुपमा रहनुभयो । सुवेदीले राजीनामा दिनुभएसँगै बागमती प्रदेश सभामा एमालेका ४२ जनामात्र सदस्य रहने भएको छ ।