हेटौंडाः मकवानपुरका छुट्टाछुट्टै दुई स्थानमा बिहिबार भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । हेटौंडाको थानाभर्याङमा भएको दुर्घटनामा परी हेटौंडा–११ मा डेरा गरी बस्ने चस्मभक्त श्रेष्ठ र र भीमफेदी गाउँपालिकामा दुर्घटनामा परी भीमफेदी गाउँपालिका–३ का उमेश बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–११ थानाभर्याङमा सिलगुडीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ७९४२ नम्बरको यात्रु बसले ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । श्रेष्ठको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको होे । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ । यस्तै भीमफेदी गाउँपालिका माण्डुस्थित भित्री सडकमा ना ६ त ६०३५ नम्बरको खाली ट्रयाक्टर पल्टिँदा भीमफेदी–३ उमेश बस्नेतको ज्यान गएको हो । दुर्घटनामा परी भीमफेदी–३ का १८ वर्षीय दुर्गा कार्की र १७ वर्षीय राजिव पोखरेल घाइते भएको प्रहरीले जनाएको छ ।