सांकेतिक तस्विर ।

हेटौंडाः सातौं राष्ट्रिय कृषि गणना मंगलबारबाट देशभरी सुरु भएको छ । मकवानपुरमा १ सय ८५ गणना क्षेत्रमा ६० जना गणक र १८ जना सुपरिवेक्षकबाट कृषि गणना गरिँदैछ । मकवानपुरमा कृषिगणनाको लागि ९१ वटा वडाहरु नमुनामा परेको छ ।

राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि राष्ट्रिय कृषि गणना सुरु भएको हो । नेपालमा २०१८ सालदेखि केन्द्रीय तथ्याङ्क विभागले हरेक दश–दश बर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको छ । राष्ट्रिय जनगणना पुरा भएकै वर्ष कृषि गणना गरिने प्रचलन रहेको छ । मंगलबारबाट सुरु भएको राष्ट्रिय कृषि गणना ४५ दिन जेठ १९ गतेसम्म सञ्चालन हुने बागमती प्रदेशको कृषिगणना कार्यालयका अधिकृत राजेश दासले जानकारी दिनुभयो । नेपालको सबै ७७ जिल्लाका ७ सय ५३ स्थानीय तहहरुमा वैज्ञानिक विधिले छनौट गरिएका कृषक परिवारसँग व्यक्तिगत अन्तर्वार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण संकलन गरिने छ । यस गणना अन्तर्गत पारिवारिक, व्यवसायिक तथा संस्थागत रुपमा सञ्चालन भइरहेका कृषिकार्यको विवरणहरु संकलन गरिने भएको छ । कृषिगणनामा सुचीकरण, मुख्य प्रश्नावली र सामुदायिक प्रश्नावली गरी गणना गरिनेछ । कृषि गणनाका लागि देशभर गणक र सुपरिवेक्षक गरी ६ हजार ४६३ जना फिल्डमा खटिएका छन् ।

नेपालको कृषि प्रणालीमा महिलाको बढ्दो सहभागितालाई ध्यानमा राखी महिलाको अगुवाइमा भइरहेका खेतिपातीको विवरण छुट्टै कृषि गणनामा संकलन गरिने छ । महिलाको स्वामित्वमा रहेको कृषि जग्गा, महिलाको कृषि कार्यसम्बन्धी निर्णयमा सहभागिता, महिलाले कृषि कार्यमा दिईएको समय लगायतको विवरण संकलन गरिने भएको छ ।