हेटौंडाः हेटौंडा उपमहानगरपालिका र साहित्य संगम मकवानपुरद्वारा सञ्चालित पुष्पलाल स्मृति पुस्तकालयमा अध्ययनका लागि आउने पाठकको संख्या न्यून रहने गरेको छ । हेटौंडा–५ स्थित पुस्तकालयमा अहिले दैनिक ८–९ जना पाठकहरु अध्ययनका लागि आउने गरेको पुस्तकालयका कर्मचारी आकृति मानन्धरले जानकारी दिनुभयो ।

पुस्तकालयमा प्रायः साहित्यकार र विद्यार्थीहरु अध्ययनका लागि आउने गरेको मानन्धरले बताउनुभयो । पुस्तकालयमा आउने पाठकका लागि कम्प्युटर, पत्रपत्रिका र साहित्य किताबहरु राखिएको छ । धेरै पाठकहरु पत्रपत्रिका र साहित्यका किताबहरु अध्ययनका लागि आउने गरेको उहाँले बताउनुभयो । पुस्तकालयका १०७ जना नियमित सदस्यहरु रहेका छन् । पुस्तकालय दिनको २ बजेदेखि साँझ ६ बजेसम्म खुल्ने गरेको छ । पुष्पलाल स्मृति पुस्तकालयमा ५ हजार भन्दा बढी पुस्तक छन् ।