हेटौंडाः रोटरी क्लब अफ हेटौंडाको नियमित बार्षिक कार्यक्रम अन्तर्गत दोश्रो चरणको आँखा शिविर शनिबार सम्पन्न भएको छ । मकवानपुर जिल्लाका ३ र रौतहट जिल्लाको पौराही बागमती गरी जम्मा ४ स्थानमा भएको शिविरमा ७ सय ६० जनाको आँखा परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८० जना मोतिविन्दुका बिरामीहरू शल्यक्रियाका लागि छनौट गरिएकोमा जम्मा ७० जनाको मात्र शल्यक्रिया भएको शिविर संयोजक अर्जुन सुवेदीले जानकारी दिनुभएको छ ।
संयोजक सुवेदीका अनुसार बुधबारदेखि विभिन्न स्थानमा परीक्षण सुरु गरेर शल्यक्रिया गर्नुपर्ने विरामीलाई हेटौंडास्थित हेटौंडा सामुदायिक आँखा अस्पतालमा शनिबार र आइतबार शल्यक्रिया गरिएको हो । सोमबारसम्म सम्पूर्ण विरामीहरूको डिस्चार्ज गरिने अस्पतालले जनाएको छ । शल्यक्रिया गर्नु पर्ने बिरामीलाई शिविर आयोजना गरिएको स्थानदेखि अस्पताल ल्याउने, शल्यक्रिया गर्ने र शल्यक्रियापश्चता घरसम्म पुर्याउने सबै व्यवस्थापन रोटरी क्लबले गरेको रोटरी क्लबका अध्यक्ष रामप्रसाद शर्माले बताउनुभएको छ । आँखा शिविर आयोजनाका लागि अस्ट्रेलियाका डेवीट एक्सलेको विशेष आर्थिक सहयोगमा तास्मानियाका रोटरी क्लबहरूले सहयोग गर्दै आइरहेको छ ।
क्लबले रोट्याक्ट क्लब अफ हेटौंडा र हेटौंडा सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा चैत्र २४ गते मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाको आँपटार, २५ गते राक्सिराङ गाउँपालिकाको खैराङ र बागमती गाउँपालिकाको गढन तथा रौतहट जिल्लाको पौराहीमा निःशुल्क आँखा शीविर सञ्चालन गरेको थियो ।
२०५१ सालदेखि रोटरी क्लब अफ हेटौंडाले आँखा शिविर आयोजना गर्दै आएको छ । दुर्गम, विकट क्षेत्रमा पुगेर विपन्न नागरिक लक्षित गरी आँखा शिविर तथा मोतिविन्दुको शल्यक्रिया गर्ने अभियान सञ्चालन गर्दै आएको रोटरी क्लब अफ हेटौंडाकै प्रयासमा सरोकारवालाको साथ र सहयोगमा हेटौंडामा सामुदायिक आँखा अस्पताल स्थापना गर्न सफलता मिलेको छ ।