हेटौंडाः नगरस्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधी जिएस निकेतनले जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा सोलिड्यारिटी इन्टरनेसनल स्कूललाई ३–० को सोझो सेटले पराजित गर्दै जिएसले प्रतियोगिताको उपाधी हात पारेको हो ।
जिएसले सोलिड्यारिटीलाई क्रमशः २५–१०, २५–११ र २५–११ को सोझो सेटमा पराजित गरेको हो । जितसँगै जिएसले नगद २७ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको सोलिड्यारिटीले नगद १८ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै सेमिफाइनलमा पराजित भएका सिद्धार्थ शिशु सदन र गोरक्षनाथ माविले पनि ६ हजार ७ सय ५० रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी सोलिड्यारिटीका सामुयल पाख्रिन घोषित हुँदा उत्कृष्ट स्पाइकर जिएसका अमृत मिश्र र उत्कृष्ट सेटर जिएसका विनोद श्रेष्ठ घोषित हुनुभएको छ । उत्कृष्ट हुने खेलाडीहरुले समान १५–१५ सय रुपैयाँ प्राप्त गरेको छ । हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाको आयोजनामा भएको प्रतियोगितामा हेटौंडा उपमहानगर क्षेत्रका ११ वटा विद्यालयको सहभागिता रहेको थियो । नकआउट प्रणालीमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन शुक्रबार भएको थियो ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्य तथा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको प्रमुख आतिथ्यमा भएको थियो । समापन कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गी, प्रतियोगिता आयोजक उपसमितिका सदस्य राजाराम पोखरेलको उपस्थिति रहेको थियो ।