हेटौंडाः वेतखोल्सी सामुदायिक वन उपभोक्ता समूह हेटौंडा–९को २१औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । समूहका अध्यक्ष बासुदेव प्याकुरेलको सभाध्यक्षता तथा जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा समूहको वार्षिक गतिविधिको जानकारी गराउँदै अध्यक्ष प्याकुरेलले समूहमा २ सय ६५ घरधुरी सदस्य रहेको जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार ७ सय उपभोक्ता प्रत्यक्ष वनसँग जोडिएका छन् । सामुदायिक वन ३५ दशमलब ९७ हेक्टर क्षेत्रफलमा फैलिएको उहाँले जानकारी दिनुभयो । यस्तै, समूहमा ३२ लाख ५६ हजार रुपैयाँ बराबरको आयव्यय रहेको देखिन्छ । कार्यक्रममा प्रमुख अतिथि जिसस प्रमुख खुलालले वन संरक्षण गरी उपभोग गर्न अनुरोध गर्नुभयो । उहाँले बुढा रुख काटिएको ठाउँमा नयाँ रुखहरु रोपेर वनको संरक्षण गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा जेष्ठ नागरिक दिलानाथ नेपाल र पुष्पाञ्जली आमा गस्ति समूहलाई सम्मान गरिएको छ । यस्तै, कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठक, ९ नम्बर वडा अध्यक्ष लक्ष्मण भण्डारीलगायतको उपस्थिति रहेको थियो