सांकेतिक तस्वीर ।

हेटौंडाः नेपालमै पहिलो पटक बालबालिकालाई आउँदो शुक्रबारदेखि निशुल्क टाइफाइड खोप लगाइँदै छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ५६ हजार ४ सय ९० जना बालबालिकालाई खोप लगाउने अनुमान गरिएको छ ।

१५ महिनादेखि १५ वर्ष उमेर समुहका बालबालिकालाई खोप लगाउने बताइएको छ । ५ बर्षदेखि १० बर्षसम्मका १० हजार १ सय ८३ जना लाभान्वित हुने अनुमान गरिएको छ भने ५ बर्षदेखि १५ बर्ष उमेर समुहका ४६ हजार ३ सय ७ जनालाई खोप लगाउने अनुमान गरिएको छ । हेटौंडा उपमहानगरपालिकामा १ सय १५ वटा खोप केन्द्र तोकिएको छ । यस्तै स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाद्वारा आयोजित खोप अभियानमा स्वास्थ्य संस्था, सामुदायिक विद्यालय, वडा कार्यालयलाई खोप केन्द्र तोकिएको हो ।

ज्वरो साल्मोनेला टाइफी र पाराटाईफी ‘ए’, ‘बी’ तथा ‘सी’ प्रजातिका ब्याक्टेरियाको संक्रमणका कारणले टाइफाइड रोग व्यक्तिमा सर्ने गर्छ । टाइफाइड सबै व्यक्तिमा संक्रमण हुने रोग होे । गर्मी महिना लागेपछि टाइफाइडको संक्रमण बढी हुने गर्दछ । दुषित खाना तथा दुषित पानीको सेवनले यो रोगको संक्रमण हुने गरेको छ । टाइफाइड संक्रमणका मुख्य लक्षण उच्च मात्रामा ज्वरो आउनु, खान मन नलाग्नु, पेट दुख्नु, वान्ता हुनु आदि हुन् ।