लागुऔषध गाँजा, ट्रकसहित पक्राउ परेका भारतीय यूवक ।

हेटौंडाः मकवानपुर प्रहरीले ९० किलो लागुऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नम्बरको ट्रक बीआर २५–जीए ३०९२ नम्बरको ट्रक चालक मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुरका ३५ बर्षीय असगर अलि रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आइतबार साँझ ५ बजेको समयमा विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी–६ मा चितवनबाट मनहरीतर्फ आउँदै गरेको भारतीय नम्बरको ट्रकलाई रोकी सुरक्षाजाँच गर्दा लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा बरामद भएको प्रहरीको भनाइ छ । अलिलाई उक्त लागुऔषध गाँजा, ट्रकसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।