हेटौंडाः आसन्न स्थानीय तहको निर्वाचनका लागि मकवानपुरमा नेपाली काँग्रेसको नेतृत्वमा ५ दलीय गठबन्धन पदका लागि मात्रै भएको नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताउनुभएको छ । शुक्रबार नेपाली काँग्रेसको अगुवाईमा नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित चुनावी गठबन्धनको घोषणा गरिएको थियो ।
५ दलीय गठबन्धन नेकपा एमालेको विरुद्धमा मात्रै भएको र गठबन्धनसँग जनतालाई आकर्षित गर्ने कुनै एजेण्डा नभएको एमाले अध्यक्ष श्रेष्ठको दावी छ । ‘निर्वाचनबाट पद पाउनका लागि मात्रै गठबन्धन गरिएको छ । यो एमालेको विरुद्धको गठबन्धन पनि हो’, समृद्ध समाजसँग कुरा गर्नुहुँदै श्रेष्ठले भन्नुभयो, ‘जनतालाई आकर्षित गर्ने कार्यक्रम र एजेण्डा बिनाको गठबन्धनले मकवानपुरमा एमालेलाई कुनै असर पर्दैन ।’
एमाले अध्यक्ष श्रेष्ठले मकवानपुरका मतदाताले एमालेको आकर्षक एजेण्डा र कार्यक्रमलाई हेरेर मत दिने दावी पनि गर्नुभयो । नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी एमालेको विरुद्धमा गठबन्धन गर्न बाध्य भएको उल्लेख गर्नुहुँदै अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘एउटै पार्टी भित्र नेता, कार्यकर्तालाई मिलाउन कत्रो कठिन हुन्छ । ५ वटा पार्टीका नेता, कार्यकर्तालाई मिलाएर एमालेविरुद्ध उत्रने कुरा सम्भव छैन ।’ केन्द्रको निर्देशनमा बनेको ५ दलीय गठबन्धन विरुद्ध एमाले एक्लै आफ्ना जुझारु नेता, कार्यकर्ता लिएर जनताको साथमा शानदार जनमतसहित विजयी हुने श्रेष्ठको दावी छ ।