देशकै पहिलो बालमैत्री पालिका घोषणा भएको मकवानपुरको मनहरीमा बालबालिकाहरु श्रम गर्न अझै बाध्य छन् । बालमैत्री घोषणा भएको पालिकामा सरकारले सञ्चालन गर्ने कार्यक्रममा बालिबालिका नै प्रयोग गरिनु लाजमर्दाे विषय हो । सबै पूर्वाधार र मापदण्ड पूरा नगरी बालमैत्री किन र कसरी घोषणा गरियो भन्ने प्रश्न उठेको छ । देशमै बालमैत्री घोषणा हुने मकवानपुरले रेकर्ड नै बनाएको छ । आजसम्म बालमैत्री घोषणा भएका पालिकाको संख्या चार हुँदा तीन वटा मकवानपुरकै छन् । बालमैत्री घोषणा हुन निश्चित मापदण्ड पूरा गरिनु पर्दछ । मापदण्ड नै पूरा नभई किन हतारमा घोषणा गरियो भन्ने प्रश्न यतिबेला उठेको छ । मकवानपुरको मनहरी गाउँपालिकामा नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममा नै बालबालिका प्रयोग भएको पाइएको हो ।
रोजगारको नाममा बालबालिकालाई श्रममा प्रयोग गरिएको भन्दै मनहरी गाउँपालिका बाल सञ्जालले आपत्ति जनाएको छ । अभियानमा प्रथम हुने नाममा तोकिएका मापदण्ड पूरा नै नभई बालमैत्री घोषणा गरिएको प्रष्ट हुन्छ । राजनीतिक लाभकै लागि यस्तो छद्म प्रयास गरिनु दुःखदायी अवस्था हो । मकवानपुरभन्दा सबै कुराले सम्पन्न भएका अन्य जिल्लाहरुले बालमैत्री पालिका घोषणा गर्न अझै सकिरहेका छैनन्, तर मकवानपुरका पालिकाहरु धमाधम बालमैत्री बन्दै गएका छन् । मापदण्ड पूरा गरेर घोषणा भएका भए अत्यन्त राम्रो काम हो । तर तत्काल चर्चामा आउनकै लागि बालमैत्री घोषणा गरिने रहेछ भन्ने उदाहरण मनहरी बनेको छ । बालमैत्री पालिका पहिलो र बालश्रम यथावत रहेको तथ्य सार्वजनिक हुने पालिकामा पनि मनहरी पहिलो नै भएको छ ।
मनहरीको यो घटनाले समग्र जिल्लाबासीको विश्वसनियतामा प्रश्न उठ्न सक्छ । तथ्यपरक ढंगबाट अगाडि भए पनि अब आशंका गर्ने ठाउँ मनहरीले दिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम बाल श्रमिकका लागि हो र ? यो कार्यक्रममा सहभागी हुन निश्चित मापदण्ड छन् । बेरोजगारी सूचीमा सूचीकृत हुनुपर्ने हैन र ? सबै पालिकाहरुमा रोजगार अधिकृत नै तोकिएका हुन्छन् । उनीहरुले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरुको विवरण संकलन गर्ने र त्यसैका आधारमा वर्षमा ९० दिनसम्मको रोजगारी दिनुपर्ने हुन्छ । यस्तो मापदण्डभित्र बाल श्रमिकहरु कसरी प्रवेश गरे भन्ने प्रश्न महत्वपूर्ण छ । यस घटनामा पनि राजनीतिक दाउपेच वा स्वार्थ त लुकेको छैन ?
देशकै प्रथम बालमैत्री पालिकामा बालश्रममात्र हैन कि त्यहाँका विद्यार्थीसमेत कुलतमा फस्दै गएको दावी पालिकाको बालसञ्जालले गरेको छ । विद्यालय तहकै बालबालिका लागूऔषधमा फस्दै गएको अवस्था सम्बन्धित निकायको तथ्यांकले स्वीकारेको छ । मनहरीमा रहेका विद्यालय तहका बालबालिका धुमपान, मद्यमानजस्ता लागूपदार्थ सेवन गर्ने गरेको बालसञ्जालको दावीलाई विश्वास गर्ने हो भने बालमैत्री घोषणा औपचारिकताका लागि मात्र थियो भन्ने प्रष्ट छ । हालैमात्र मकवानपुरगढी पनि बालमैत्री घोषणा भएको छ । घोषणामा हतार गर्नुभन्दा मापदण्डको तथ्यपूर्णरुपमा पालना गराउनेतर्फ सचेत हुनुपर्ने देखिन्छ । बालमैत्री पालिका घोषणा गर्नुभन्दा मापदण्डको परिपालनाबारे निरन्तर अनुगमन जरुरी छ । नत्र यस्ता अभियानहरु घोषणामै सिमित हुनेछन् ।