पिडीत रामबहादुर पाख्रिन


हेटौंडाः ८० वर्षीय क्यान्सर पीडित एक वृद्वले आफ्नो छोराबाटै अपहेलित हुनुपरेको छ । लामो समयदेखि बिरामी वृद्धले आफ्नै छोराबाट अपहेलनासँगै दुव्र्यवहार र यातना सहनुपरेको हो ।

विगत ३ वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुभएका रामबहादुर पाख्रिन छोराको दुव्र्यवहार र यातनाविरुद्ध न्यायका लागि भौतारिँदै आउनुभएको छ । छोराले करिब एक वर्षदेखि अश्लील शब्द प्रयोग गरी हातपात गर्नुका साथै चप्पलले आफूलाई प्रहार गर्दै आएको रामबहादुरले आरोप लगाउनुभएको छ । आफ्नो जिउधन सुरक्षाको निम्ति जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिए पनि उहाँलाई न्याय मिलेको छैन ।

छोराले आफूलाई घरबाट निकाल्नका लागि पटकपटक यस्तो व्यवहार गरेको उहाँको भनाइ छ । आफू जिब्रो र च्यापुको क्यान्सर पीडित रहेको र छोराले पटकपटक अश्लील शब्द प्रयोग गरी चप्पललले प्रहार गरेकाले छोरालाई कारवाहीको मागसहित प्रहरी कार्यालयमा विभिन्न मितिमा उजुरीसमेत दिनुभएको पाख्रिनले बताउनुभयो । प्रहरीले छोरालाई बोलाएर प्रहरी कार्यालयमा मिलापत्र गराउँदै आएको भए पनि छोराको यातना तथा दुव्र्यवहार कम नभएको उहाँको गुनासो छ ।

‘नाटकको रुपमा प्रहरी कार्यालयमा छोराले मिलापत्रमा हस्ताक्षर गर्छ’, पाख्रिन भन्नुहुन्छ–“घरमा गयो छोराको व्यवहार उस्तै हुन्छ ।” सात महिनाअघि जिल्ला प्रहरी कार्यालयमा पेश गरेको निवेदनमा क्यान्सर पीडित पाख्रिनले ‘अश्लील शब्दहरु प्रयोग गरी निज छोराकै चप्पलले ३ पटक, नातिनीको चप्पलले एक पटक र श्रीमतीको चप्पल हातमा लिई एक पटक प्रहार गरी अभद्र व्यवहार गरेकाले सहन नसकि निवेदन दिएको’ उल्लेख गर्नुभएको छ ।
२०७८ साल असोज १७ गते अश्लील शब्दहरु प्रयोग गरी टाउको, ढाडसमेतमा चप्पलले प्रहार गरी अभद्र व्यवहार गरेको र मोबाइलको सिमकार्डसमेत खोसिएकाले घटना भएको दुई दिनपछि असोज १९ गते उहाँले प्रहरीमा उजुरी दिएको जानकारी दिनुभयो । यसैगरी, गत बुधबार अन्तिम पटक न्याय पाउने आशाले एउटै घरमा बस्दै आएका ३४ वर्षीय छोरा टेकबहादुरले खानासमेत नदिई, औषधीको बिलसहित नागरिकता लुकाएको भन्दै क्यान्सर पीडित वृद्धले हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिमा निवेदन तथा उजुरी दिनुभएको छ ।

यो एउटा प्रतिनिधि घटनामात्र हो । ज्येष्ठ नागरिकले आफ्ना सन्तानबाट अपहेलित हुनुपरेको घटना हाम्रो समाजमा व्यापक बन्दै गइरहेको छ । ६० वर्षभन्दा माथिका नागरिकलाई ज्येष्ठ नागरिक मान्दै ऐनले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, निजहरुमा रहेको ज्ञान, सीप, क्षमता अनुभवको प्रयोग गरी निजहरुप्रति आदर, श्रद्वा र सद्भावको अभिवृद्वि गर्नुपर्ने कुरा उल्लेख गरिएको छ ।

ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा खाने, लाउने, बस्ने, घुमफिर गर्ने, मनोरञ्जन गर्ने र धार्मिक कार्यमा संग्लन हुने तथा स्वास्थ्य सेवाको व्यवस्था मिलाउनुपर्ने उल्लेख छ । यसैगरी ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सबैको कर्तव्य भएकाले आफ्नो आर्थिक हैसियत तथा इज्जत आमदअनुसार पालनपोषण तथा परिवारको हेरचाह गर्नु प्रत्येक परिवारको कर्तव्य हुने व्यवस्था गरिएको छ ।

तर, आजभोलि एकल परिवारको संरचना व्यापक बन्दै जाँदा ज्येष्ठ नागरिक सहाराबिहीन बन्दै गएका छन् । विगतमा जेष्ठ नागरिकहरूको उचित स्याहार सुसार, सम्मान हुने गर्दथ्यो भने पछिल्लो समय मानिसहरू पैसामुखी भएको ज्येष्ठ नागरिकको गुनासो छ । बुढेसकालमा बाबाआमालाई उचित स्याहार सुसार, पालनपोषण नगरी आश्रममा लगेर छाड्ने, घरबाट निकाला गर्ने प्रचलन बढ्दै गएकोमा ज्येष्ठ नागरिकहरुले चिन्ता व्यक्त गरेका छन् ।
परिवारको जेष्ठ व्यक्तिलाई घरको मूली मान्ने, उसैको आदेश, निर्देशानुसार चल्ने विगतको समाज आज लोप हुँदै गएको छ । “मातृ देवो भवः पितृ देवो भवः” भन्ने हाम्रो समाजमा रहेको परम्परा आज नौलो विषय बन्न थालेकोप्रति चिन्ता व्यक्त हुनु आवश्यक छ । ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षाको लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसहित सम्बन्धित निकायको यस्तो विषयमा गम्भीर चासो र चिन्ता आवश्यक छ ।