तालिममा कृषकहरुलाई रोगकिराको बारेमा जानकारी गराउनु हुँदै कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी । फाइल तस्वीर ।


हेटौंडाः मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ को आयोजनामा शिखरकटेरीमा दुई दिने प्लाष्टिक टनेल भित्र व्यवसायिक तरकारी खेती व्यवस्थापन तालिम बुधबार सकिएको छ । समापन कार्यक्रम मकवानपुगढी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष बखान सिं पाख्रिनको सभाध्यक्षतामा सम्पन्न भएको छ ।

मकवानपुरगढी गाउँपालिकाको तथ्यांक अनुसार आर्थिक वर्ष ०७७/७८ सम्म वडा नम्बर २ मा ३२ कृषक परिवारले १२ हजार ३ सय ८४ वर्गमीटर क्षेत्रफलमा १ सय १९ वटा टनेल निर्माण गरी व्यवसायिक तरकारी खेति गरिरहेका छन् । यस वर्ष थप विस्तार हुने क्रममा रहेको वडा कार्यालयले जनाएको छ । जसमा सबैभन्दा बढी टनेल कुर्लेफाँटमा रहेको छ । गत वर्ष टनेल भित्र लगाएको गोलभेडा लगायतका तरकारीमा विभिन्न समस्या देखापरेकोमा उक्त समस्यालाई लक्षित गरि टनेल भित्र खेती गर्ने कृषकहरुलाई तालिम दिइएको हो । तालिममा सैद्वान्तिक विषय वस्तुसँगै फिल्ड अवलोकनमा रोग कीराको पहिचान, काँटछाँट, माटो व्यवस्थापन लगायतका विषयमा व्यवहारिक रुपमा प्रशिक्षण दिइएको थियो ।

तालिममा कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, कृषि प्राविधिक गोपाल लम्साल र संगिता दुलालले प्रशिक्षण दिएको थिए । तालिममा २० जना कृषकहरुको सहभागिता रहेको थियो ।